images
images
  • नर्स ममता काफ्ले बेपत्ता प्रकरण: पति नरेशले अदालतमा के दिए बयान ?

    काठमाडौं– अमेरिकामा बेपत्ता नेपाली नर्स ममता काफ्ले भट्टको हत्या मुद्दा लागेका उनकै श्रीमान् नरेश भट्टले अदालतमा बयान दिँदै पत्नीलाई कहिल्यै शारीरिक हिँसा नगरेको दाबी गरेका छन् । यही नोभेम्बर ४ बुधबार अदालतमा भएको सुनुवाइका क्रममा नरेशले श्रीमतीलाई आफूले मानसिक (भावनात्मक) तनाव भने दिएको स्वीकार गरेका छन् ।

    अमेरिकी सञ्चारमाध्यम फक्स ५ डीसीका अनुसार नरेशले विवाहका सुरुका दुई वर्ष निकै सुखद रहे पनि पछि सम्बन्ध बिग्रिँदै गएको अदालतमा बयान दिएका छन् । अदालतमा उनले ममतासँग कहिलेकाहीँ विवाद हुने गरेको तर आफूहरूबीच कहिल्यै शारीरिक हमला वा कुटपिट नभएको जिकिर गरे ।

    नरेशले भने, ‘हाम्रो परिवारमा कसैले महिलामाथि हात उठाएको इतिहास छैन र मैले जीवनमा कहिल्यै ममतालाई रिसको झोकमा समेत छोएको छैन ।’

    तर बयानका क्रममा सरकारी वकिल ट्रेसी लेनोक्सले ममता बेपत्ता हुनुभन्दा केही महिनाअघिका दम्पतीबीच भएका टेक्स्ट म्यासेज देखाउँदै शारीरिक हिंसाको धम्की दिएकोबारे प्रश्न गरिन् ।

    जवाफमा नरेशले भने, ‘शारीरिक हिंसा होइन, मानसिक (भावनात्मक) तनाव दिने काम गरेको थिएँ ।’

    उनका अनुसार सन् २०२४ को सुरुवातदेखि उनीहरूबीच दैनिकजसो झगडा हुन थालेको थियो । यस क्रममा आफूले ममतालाई सम्बन्धविच्छेद गर्ने र ममताले चाहिँ आत्महत्या गर्ने धम्की दिने गरेको दाबी नरेशले गरेका छन् ।

    नरेशले अदालतमा ममतासँगको चिनजान र विवाहको प्रसंग पनि सुनाएका छन् । नेपालमा अर्कै युवतीसँग बिहे गर्न लाग्दा ‘चिना नमिलेर’ रोकिएको र ती युवतीकै रुममेट ममतासँग सन् २०२० मा फेसबुकमार्फत सम्पर्क भएको उनले बताएका छन् ।

    ममतासँग दुई साता कुराकानी गरेपछि विवाह गर्ने निर्णयमा पुगिएको नरेशको भनाइ छ । यद्यपि परिवारमा मृत्यु भएपछि सुरुमा तय भएको मिति सारेर त्यही वर्ष अर्कै दिन विवाह गरिएको उनले बताएका छन् । विवाहपछि पारिवारिक सहमतिमै ममतालाई अमेरिका ल्याइएको नरेशले बयानमा भनेका छन् ।

    नरेशका अनुसार दुईपटक गर्भपतन भइसकेकी ममताले सन् २०२३ अगस्टमा छोरी जन्माएकी थिइन् । छोरी जन्मिएपछि ममताको स्वभाव र व्यवहारमा अस्वाभाविक परिवर्तन आएको दाबी उनले गरेका छन् ।

    ‘उनी दिनभर सुत्न खोज्ने र सामान्य कुरामा पनि झर्किने हुन थालिन् । मैले राति खोकेको, शौचालय फ्लस गरेको वा बत्ती बालेको जस्ता सानातिना कुरामा पनि उनी चिढिन्थिन्’, नरेशले भनेका छन्, ‘अहिले फर्केर हेर्दा उनलाई प्रसवपछिको डिप्रेसन (पोस्टपार्टम डिप्रेसन) भएको हुनसक्छ । तर म दिनमा १६–१७ घण्टा दुईवटा जागिरमै व्यस्त भएकाले मैले त्यसलाई गम्भीर रूपमा बुझ्न सकिनँ।’

    ममता काफ्ले भट्ट अमेरिकाको भर्जिनिया राज्यस्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन् । सन् २०२४ अगस्ट १ मा उनी काममा उपस्थित नभएपछि सहकर्मीहरूले उनको अवस्थाबारे चासो व्यक्त गरेका थिए ।

    त्यसपछि प्रहरी ममताको दम्पती बस्ने घरमा पुगेको थियो । नरेशले सुरुमा ममता हराएको विश्वास नभएको र आफूले उनलाई जुलाई २९ मा अन्तिमपटक देखेको बताएका थिए । त्यसबेला उनले ममता घर छाडेर जान चाहेको र सम्बन्ध विच्छेदको कुरा गरेको पनि प्रहरीसँग दाबी गरेका थिए ।

    नरेशले अगस्ट ५ मा औपचारिक रूपमा ममता हराएको उजुरी दिएका थिए । तर परिवार र साथीहरूले ममता सानी छोरी छाडेर कसैलाई खबर नगरी घरबाट निस्केको कुरामा विश्वास गरेनन् ।

    यसपछि प्रहरीले २०२४ अगस्ट २२ मा नरेशलाई पक्राउ गरेको थियो । अभियोजन पक्षले नरेशले ममताको हत्या गरी शव लुकाएको आरोप लगाएको छ । ममताको शव अहिलेसम्म फेला परेको छैन । अदालतमा नरेशको बयान आज पनि जारी रहने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images