काठमाडौं– इजरायलका विपक्षी नेता गाडी आइसेनकोटले आफ्नो नेतृत्वमा अमेरिकासँगको सम्बन्ध पुनःस्थापित गर्ने बताएका छन् ।
इजरायल र अमेरिकाबीचको सम्बन्ध दुई देशका सरकारबीचको गठबन्धनमा मात्र सीमित नरहेको उनको भनाइ छ ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकी मतदाताहरूले इजरायलसँगको सम्बन्धमा वासिङ्टनको नीतिमा परिवर्तन चाहेको अभिव्यक्ति दिएको भोलिपल्ट आइसेनकोटको यस्तो भनाइ आएको हो ।
‘यो पुस्तौंदेखि निर्माण हुँदै आएको, साझा लोकतान्त्रिक मूल्य-मान्यतामा आधारित र दुवै देश सँगै उभिँदा अझ सुरक्षित तथा समृद्ध हुन सकिन्छ भन्ने विश्वासले बलियो बनेको जनस्तरको साझेदारी हो’, आइसेनकोटले भने, ‘हामी यो साझेदारीलाई नवीकरण र अझ गहिरो बनाउनेछौं । वर्षौंदेखि यसलाई टिकाइराखेको दलीय सहमतिमा आधारित जगलाई बलियो बनाउँदै सम्पूर्ण मध्यपूर्वको विकास र स्थायित्वका लागि काम गर्नेछौं ।’
मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समर्थन गरेका थिए । तर निर्वाचनकै दिन उनले वर्षेनि इजरायललाई दिँदै आएको ४ अर्ब अमेरिकी डलर सहायता आगामी वर्षको अन्त्यदेखि रोक्ने घोषणा गरेका थिए ।
यसैबीच इजरायली राष्ट्रपति हर्जोगले पनि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इजरायलबीचको सम्बन्ध परिवर्तन हुनुपर्ने मतदाताको चाहनाबारे दिएको अभिव्यक्ति नयाँ भावना नभएको बताएका छन् ।
रिपब्लिकन पार्टीको पराजयका कारणमध्ये इजरायलसँगको सम्बन्ध पनि एक रहेको भान्सले औंल्याएपछि हर्जोगले यस्तो प्रतिक्रिया दिएका हुन् ।
हर्जोगले भने, ‘हाम्रो सबैभन्दा ठूलो मित्र र सहयोगी राष्ट्रभित्र यस्ता भावना केही समयदेखि नै व्यक्त हुँदै आएका छन् र यस विषयमा छलफल पनि भइरहेको छ ।’
इजरायलको विपक्षी दल यिसरेल बेइतेनुसँगको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र डेमोक्रेटिक पार्टीप्रति आफ्नो सम्मान रहेको पनि बताए ।
हर्जोगले भने, ‘इजरायलले सधैं दलीय विभाजनभन्दा माथि रहेर सम्बन्ध कायम राख्न हरसम्भव प्रयास गर्दै आएको छ ।’





















