काठमाडौं– साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोले तेल निर्यातका नयाँ मार्गहरूको खोजी गरिरहेको जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमिन नासेरले पूर्व-पश्चिम पाइपलाइन विस्तार गर्ने सम्भावनासहित नयाँ निर्यात मार्गबारे अध्ययन भइरहेको बताएका हुन् ।
रोयटर्ससँग कुरा गर्दै उनले आवश्यक परेको अवस्थामा तेल उत्पादन तत्काल बढाउन कम्पनी तयार रहेको पनि बताएका छन् ।
इरानमाथि अमेरिका-इजरायलको युद्ध र यमनमा जारी युद्धका कारण तेल निर्यातमा अवरोध सिर्जना हुँदा अराम्कोको तेल उत्पादन घटेको छ । तेल पूर्वाधारमाथि भएका आक्रमणले पनि उत्पादन र निर्यात प्रभावित भएको छ ।
आक्रमणको निशानामा परेको पूर्व-पश्चिम पाइपलाइन साउदी अरबको महत्त्वपूर्ण तेल ढुवानी मार्ग हो । यसले देशको पूर्वी क्षेत्रमा रहेका तेलखानीबाट उत्पादित तेल पश्चिमी तटस्थित लालसागरसम्म पुर्याउने काम गर्छ ।






















