काठमाडौं – मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा निर्धारित लक्ष्यको ९४.९३ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार साउनदेखि असोजसम्म ४ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ४ अर्ब ६७ करोड ७ लाख ७३ हजार रुपैयाँ सङ्कलन भएको हो ।
महिनागत विवरणअनुसार साउनमा १ अर्ब ४३ करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा १ अर्ब २७ करोड ९८ लाख ३७ हजार रुपैयाँ उठेको थियो । त्यस्तै, भदौमा १ अर्ब ६४ करोड रुपैयाँको लक्ष्य रहेकामा १ अर्ब ५५ करोड ३५ लाख ३८ हजार रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ ।
असोजमा भने राजस्व सङ्कलन लक्ष्यको निकै नजिक पुगेको छ । उक्त महिनामा १ अर्ब ८४ करोड ५० लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा १ अर्ब ८३ करोड ७३ लाख ९८ हजार रुपैयाँ उठेको छ । यो असोज महिनाको लक्ष्यको ९९.५९ प्रतिशत हो ।
कार्यालयका अनुसार गत आर्थिक वर्षको पहिलो तीन महिनामा ४ अर्ब १५ करोड २० लाख ९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो। यस वर्षको सोही अवधिमा गत वर्षभन्दा ५१ करोड ८७ लाख ६४ हजार रुपैयाँ बढी राजस्व उठेको छ ।






















