काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । कुल ८१ किलोमिटर लामो सडक आयोजनाको पूर्वी खण्डको निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने पश्चिम खण्डको भौतिक प्रगति ८६ प्रतिशत पुगेको छ ।
आयोजना कार्यालयका अनुसार जामुने–मुग्लिन पूर्वी खण्डको निर्माण पूरा भइसकेको छ । उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएपछि त्रुटि सच्याउने अवधि (डीएलपी) सुरु भएको छ । सम्झौताअनुसार डीएलपी सकिएपछि थप पाँच वर्षसम्म सडकको मर्मतसम्भारको जिम्मेवारी पनि निर्माण कम्पनीकै हुनेछ ।
४१.४५ किलोमिटर लामो पूर्वी खण्डमा दमौली र डुम्रे बजार क्षेत्रमा करिब दुई किलोमिटर सडक छ लेनमा विस्तार गरिएको छ भने अन्य क्षेत्रमा चार लेन बनाइएको छ । यस खण्डमा साना–ठूला गरी १७ वटा पक्की पुल निर्माण भएका छन् । तनहुँको मादी नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ ।
पूर्वी खण्डको निर्माण चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा ठेक्का लिएको थियो । पाँच दशकअघि निर्माण भएको सडक विस्तार तथा स्तरोन्नतिको काम २०७८ वैशाखदेखि सुरु भएको थियो ।
यस्तै, पोखरा–जामुने पश्चिम खण्डको काम आगामी मङ्सिरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो। उहाँका अनुसार करिब पाँच किलोमिटर सर्भिस लेन कालोपत्र गर्न बाँकी छ । सडकमा रोड मार्किङ, ट्राफिक सङ्केत राख्ने तथा सडक सुरक्षासम्बन्धी काम भइरहेको छ ।
पोखरा महानगरपालिका–१० को अमरसिंहचोकदेखि सेती पुलसम्म, तालचोक र बूढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्र गर्ने तयारी भइरहेको छ । ३८.८८ किलोमिटर लामो पश्चिम खण्डमा १८.५ किलोमिटर सडक छ लेन र बाँकी चार लेनमा निर्माण गरिएको छ। सहरी क्षेत्र बढी भएकाले पोखरातर्फका विभिन्न भागसँगै तनहुँका दुलेगौँडा र खैरेनीटारमा पनि छ लेन सडक बनाइएको छ ।
पश्चिम खण्डमा निर्माण गर्नुपर्ने १३ पुलमध्ये १२ वटा सम्पन्न भएका छन्। पोखराको सेती नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ । यस खण्डको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पाएको थियो । सम्झौताअनुसार निर्माण सम्पन्न भएपछि एक वर्ष डीएलपी र त्यसपछि पाँच वर्षसम्म मर्मतसम्भारको जिम्मेवारी निर्माण कम्पनीकै हुनेछ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित यो आयोजना सरकारको प्राथमिकताप्राप्त सडक पूर्वाधार योजनामध्ये एक हो। निर्माणका क्रममा ढिलासुस्ती र धुलो–हिलोको सास्ती खेपेका स्थानीय तथा पर्यटन व्यवसायीले काम छिटो सम्पन्न गर्न दबाब दिँदै आएका थिए । सडक विस्तारसँगै काठमाडौँ, चितवनलगायत क्षेत्रबाट पोखरा आवतजावत सहज हुने अपेक्षा गरिएको छ । फराकिलो सडक र सुधारिएको यातायात पूर्वाधारले गण्डकी प्रदेशको राजधानी पोखराको आर्थिक तथा पर्यटकीय गतिविधिमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।






















