काठमाडौं – नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका प्रश्न, टिप्पणी र विवादका विषयमा अध्ययन गर्न समिति गठन गरेको छ ।
बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्षद्वय उषा मल्ल पाठक र सुरेन्द्रकुमार महतो तथा पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले सदस्य रहेका छन् । बारका केन्द्रीय सदस्य बाबुराम अर्याललाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।
समितिले न्यायपालिकाबारे सार्वजनिक रूपमा उठेका टिप्पणी र सवालका तथ्य सङ्कलन गरी समग्र न्याय क्षेत्रको सुधार तथा उन्नयनका लागि आवश्यक सुझाव तयार गर्नेछ । अध्ययन प्रतिवेदन एक महिनाभित्र पेस गर्ने समयसीमा तोकिएको नेपाल बारका महासचिव केदारप्रसाद कोइरालाले जानकारी दिए ।
बारको कार्यसमिति र सल्लाहकार समितिसहितको संयुक्त बैठकले न्यायपालिकासम्बन्धी समसामयिक विषयमा अध्ययन आवश्यक ठहर गर्दै समिति गठन गर्ने निर्णय गरेको हो ।






















