काठमाडौं– बंगलादेशले गार्मेन्ट उद्योगमा कार्यरत मजदुरको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्न नयाँ ज्याला बोर्ड गठन गरेको छ । औद्योगिक क्षेत्रका प्रमुख केन्द्रहरूमा चर्किएको मजदुर आन्दोलन नियन्त्रण गर्ने प्रयासस्वरूप सरकारले यस्तो निर्णय गरेको हो ।
आइतबार ज्याला बोर्ड गठनको घोषणा गरिए पनि राजधानी ढाकासहित आसपासका क्षेत्रमा हजारौं मजदुरले पारिश्रमिक वृद्धि माग गर्दै प्रदर्शन जारी राखेका छन् । प्रदर्शनका क्रममा प्रहरी र मजदुरबीच झडपसमेत भएको छ । प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन अश्रुग्याँस र ध्वनि ग्रिनेड प्रहार गरेको थियो ।
बंगलादेशको निर्यातमुखी अर्थतन्त्रको प्रमुख आधार गार्मेन्ट उद्योग हो । यस क्षेत्रमा लाखौं मजदुर कार्यरत छन् भने देशले विदेशबाट प्राप्त गर्ने आम्दानीको ठुलो हिस्सा यही उद्योगबाट आउने गरेको छ।
मजदुरहरूले हालको न्यूनतम मासिक पारिश्रमिक १२ हजार ५०० टाका (१०१ अमेरिकी डलर) बाट बढाएर ३० हजार टाका (२४२ अमेरिकी डलर) पुर्याउन माग गरेका छन् । उनीहरूका अनुसार खाद्यान्न, आवास, यातायात र स्वास्थ्य सेवाको मूल्य बढ्दै जाँदा प्राप्त पारिश्रमिकले दैनिक जीवन धान्न कठिन भएको छ ।
सरकारले गठन गरेको ६ सदस्यीय ज्याला बोर्डमा सरकार, मजदुर र उद्योग सञ्चालकका प्रतिनिधि रहनेछन् । बोर्डलाई गार्मेन्ट क्षेत्रमा कार्यरत मजदुरको नयाँ न्यूनतम पारिश्रमिक निर्धारण गर्ने जिम्मेवारी दिइएको छ ।
श्रम तथा रोजगार मन्त्रालयका सल्लाहकार एम सकावत हुसेन चौधरीले पत्रकारहरूसँग कुरा गर्दै ज्याला बोर्ड गठनको विषय टुंगिएको बताए ।
उनले भने, ‘ज्याला बोर्ड गठन गर्ने विषय समाधान भएको छ । अब यसमा कुनै समस्या रहने छैन ।’
उनले मजदुरहरूलाई काममा फर्किएर नियमित रूपमा काम गर्न पनि आग्रह गरे ।
श्रम तथा रोजगारमन्त्री अरिफुल हक चौधरीले भने लामो समयसम्म उद्योग बन्द हुँदा र उत्पादन प्रभावित हुँदा निर्यात सामग्रीको ढुवानी तथा अन्तर्राष्ट्रिय खरिदकर्ताबाट प्राप्त हुने भुक्तानीमा ढिलाइ हुन सक्ने चेतावनी दिएका छन् । यसले उद्योगी र मजदुर दुवैलाई थप समस्यामा पार्न सक्ने उनको भनाइ छ ।
शनिबारदेखि सुरु भएको आन्दोलनका कारण ढाका नजिकैका औद्योगिक क्षेत्रमा रहेका करिब ३० वटा गार्मेन्ट कारखानाले बिदा घोषणा गरेका थिए । आशुलिया औद्योगिक प्रहरीका प्रहरी उपरीक्षक मोहम्मद मोमिनुल इस्लामले यसबारे जानकारी दिएका हुन् ।
आशुलियामा मजदुर र प्रहरीबीच भएको झडपमा प्रहरी अधिकारीसहित केही व्यक्ति घाइते भएका छन् ।
चीनपछि विश्वकै दोस्रो ठूलो गार्मेन्ट उद्योग रहेको बंगलादेशको अर्थतन्त्रमा यस क्षेत्रको योगदान कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब १० प्रतिशत छ । यद्यपि उद्योगीहरूले पछिल्लो समय यस क्षेत्रले विभिन्न चुनौती सामना गरिरहेको बताएका छन् । उत्पादन लागत बढ्नु, समय–समयमा ग्यास र विद्युत् आपूर्तिमा समस्या आउनु तथा ऊर्जा बजारमा अनिश्चितता बढ्नुले उद्योग सञ्चालन कठिन बनेको उनीहरूको भनाइ छ ।
–एजेन्सी






















