• सर्वसाधारण भक्तजनहरुका लागि पाशुपत क्षेत्रका सबै मन्दिर बन्द, नित्य पूजा जारी

    काठमाडौं।विश्वभरि कोरोना महामारीको दोस्रो लहर सहित नयाँ भेरियन्ट बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ ।

    पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गर्दै कोषले कोरोना भाइरस थप फैलिन नदिन अर्को व्यवस्था नभएसम्म सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको जनाएको हो । विभिन्न स्थानमा सूचना टाँस गरी मन्दिर बन्द गरिएको जानकारी गराइएको छ ।पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजाबाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ ।

    मन्दिर बन्द गरिएसँगै पशुपति क्षेत्रको घाट सेवामा पनि सरकारले तोकेको मापदण्डभन्दा बढी मानिस उपस्थित नहुन कोषले आम मानिसमा आह्वान गरेको छ । घाट सेवामा आउने सबैलाई अनिवार्यरूपमा मास्क लगाई स्वास्थ्य सुरक्षाका विधि अपनाउन कोषले आह्वान गरेको छ ।

    पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिनुभयो ।

    विश्वभर फैलँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअनुसार मन्दिर बन्द गरिएको कोषले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

    विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत बढ्दै गइरहेको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि निर्णय लिएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्