images
images
  • नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि टोल शुल्क तिर्नुपर्ने

    काठमाडौं – नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्क निर्धारण गरिएको जानकारी दिएको हो ।

    सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सवारीसाधनको वर्ग र यात्राको दिशाका आधारमा फरक–फरक शुल्क तोकिएको छ । काठमाडौं प्रवेश गर्ने र काठमाडौं बाहिरिने सवारीसाधनका लागि छुट्टाछुट्टै दर लागू हुनेछ ।

    निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

    त्यस्तै, मिनी बस तथा मिनी टिपर र ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ । बस तथा सिंगल रियर एक्सल भएका ट्रकले प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ ।

    मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि भने काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

    नयाँ शुल्क व्यवस्था लागू भएसँगै नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सबै सवारीसाधनले आफ्नो वर्ग र यात्राको दिशाअनुसार तोकिएको शुल्क भुक्तानी गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images