काठमाडौं – स्विट्जरल्याण्डको प्रसारणसम्बन्धी उजुरी हेर्ने स्वतन्त्र निकायले शीतकालीन ओलम्पिकका क्रममा इजरायली बब्सलेड खेलाडीबारे एक टेलिभिजन टिप्पणीकारले गरेको टिप्पणी भेदभावविरुद्धका नियम उल्लंघन गर्ने प्रकृतिको भएको ठहर गरेको छ ।
स्विट्जरल्याण्डको रेडियो तथा टेलिभिजनका लागि स्वतन्त्र उजुरी प्राधिकरणले नौ सदस्यीय प्यानलको पाँच–चार मतका आधारमा फ्रान्सेली भाषाको प्रसारण संस्था रेडियो टेलिभिजन सुइसविरुद्ध परेका चारवटा सार्वजनिक उजुरीलाई उचित ठहर गरेको हो । फेब्रुअरी १६ मा प्रसारण भएको टिप्पणीबारे परेको उजुरीमाथि प्राधिकरणले यस्तो निर्णय गरेको हो ।
मिलानो–कोर्टिना शीतकालीन ओलम्पिकमा इजरायली बब्सलेड टोली प्रतिस्पर्धा गरिरहेका बेला खेल टिप्पणीकार स्टेफान रेइनाले टोलीका पाइलट एडम जेरेमी एडेलम्यानलाई ‘पूर्ण रूपमा जियोनिस्ट’ भन्दै उनको राजनीतिक विचार र गाजामा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीप्रतिको समर्थनबारे टिप्पणी गरेका थिए ।
प्रसारणका क्रममा रेनाले एडेलम्यान स्वयंले आफूलाई जियोनिस्टका रूपमा चिनाएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा गाजामा इजरायलको सैन्य कारबाहीको समर्थनमा विभिन्न सन्देश प्रकाशित गरेको बताएका थिए। उनले एडेलम्यानले उक्त सैन्य कारबाहीलाई इतिहासकै सबैभन्दा न्यायपूर्ण र नैतिक युद्धका रूपमा व्याख्या गरेको दाबीसमेत गरेका थिए ।
टिप्पणीकारले इजरायली खेलाडीको ओलम्पिक सहभागितामाथि पनि प्रश्न उठाएका थिए । अन्तर्राष्ट्रिय ओलम्पिक समितिले युद्धलाई समर्थन गर्ने गतिविधिमा संलग्न खेलाडीलाई प्रतियोगितामा सहभागी हुन अयोग्य ठहर गर्ने मापदण्ड अपनाउनुपर्ने उनको तर्क थियो । उनले सैन्य गतिविधि वा सामाजिक सञ्जालमार्फत युद्धको समर्थन गर्ने खेलाडीको सहभागिताले ओलम्पिकको निष्पक्षतामाथि प्रश्न उठाउने बताएका थिए ।
प्राधिकरणले सार्वजनिक गरेको निर्णयअनुसार बहुमत सदस्यले टिप्पणीकारको प्रस्तुति इजरायली खेलाडीलाई उनको राजनीतिक विचारका आधारमा प्रतियोगिताबाट बाहिर राख्नुपर्ने सन्देश दिने प्रकृतिको भएको निष्कर्ष निकालेका छन् । अन्य २५ खेलाडीको तुलनामा एडेलम्यानलाई लक्षित गरी गरिएको टिप्पणीले उनलाई कलंकित गर्ने र असमान व्यवहारको सन्देश प्रवाह गरेको प्राधिकरणको ठहर छ ।
प्राधिकरणले आफ्नो विज्ञप्तिमा खेल टिप्पणीकारले इजरायली खेलाडीप्रति गरेको व्यवहार भेदभावविरुद्धको कानुनी निषेधसँग मेल नखाने उल्लेख गरेको छ । यद्यपि, नौ सदस्यीय प्यानलमा चार सदस्यले निर्णयको विपक्षमा मत दिएका थिए । यसले उक्त विषयमा प्राधिकरणभित्रै मतभिन्नता रहेको देखाउँछ ।
प्राधिकरणले निर्णयको विस्तृत लिखित आधार र प्रसारण संस्थाले अपनाउनुपर्ने सुधारात्मक उपायबारे थप विवरण पछि सार्वजनिक गर्ने जनाएको छ । सामान्यतया प्रसारणसम्बन्धी नियम उल्लंघन भएको ठहर भएमा सम्बन्धित संस्थालाई भविष्यमा त्यस्ता उल्लंघन दोहोरिन नदिन आवश्यक कदम चाल्न निर्देशन दिइन्छ ।
यसअघि एडेलम्यानले टिप्पणीलाई कटु आलोचनाको संज्ञा दिँदै आफूले त्यसलाई महत्त्व नदिने प्रतिक्रिया दिएका थिए । स्विट्जरल्याण्डस्थित इजरायली दूतावासले भने प्रसारणप्रति आपत्ति जनाउँदै निर्णायक कारबाही र सार्वजनिक माफीको माग गरेको थियो । उक्त टिप्पणी सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो भने प्रसारणको अंश केही समयपछि वेबसाइटबाट हटाइएको थियो ।
रेइनाको टिप्पणीलाई केही खेलप्रेमी तथा प्यालेस्टिनी समर्थकहरूले प्रशंसा गरेका थिए । उनीहरूले इजरायलको सैन्य कारबाहीप्रति सार्वजनिक मञ्चबाट प्रश्न उठाएको भन्दै उनको समर्थन गरेका थिए। यसरी एउटै टिप्पणीले प्रसारणको निष्पक्षता, राजनीतिक अभिव्यक्तिको स्वतन्त्रता र खेलकुदमा भेदभावको सीमाबारे अन्तर्राष्ट्रिय बहससमेत जन्माएको छ ।
गाजामा इजरायलको सैन्य कारबाही र त्यसको मानवीय प्रभावलाई लिएर अन्तर्राष्ट्रियस्तरमा आलोचना जारी छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयले पनि गाजामा प्यालेस्टिनीहरूको विस्थापन र इजरायली सैन्य गतिविधिबारे गम्भीर चिन्ता व्यक्त गर्दै आएको छ ।
तर, युद्ध र राजनीतिक विवादका विषयमा खेलाडीको व्यक्तिगत अभिव्यक्ति तथा खेलकुद प्रतियोगितामा उनीहरूको सहभागितालाई कसरी हेर्ने भन्ने प्रश्न अन्तर्राष्ट्रिय खेल क्षेत्रमा विवादित रहँदै आएको छ । यसैबीच, प्रतियोगितामा सहभागी इजरायली बब्सलेड टोली २६ टोलीमध्ये अन्तिम स्थानमा रहेको थियो ।























