images
images
  • लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न भएको आरोपमा १३ जना पक्राउ

    काठमाडौं – प्रहरीले लागुऔषधविरुद्ध देशका विभिन्न जिल्लामा सञ्चालन गरेको कारबाहीका क्रममा १३ जनालाई पक्राउ गरेको छ । शुक्रबार र शनिबार गरिएको छुट्टाछुट्टै कारबाहीमा ब्राउनसुगरजस्तो देखिने पदार्थ, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नियन्त्रित औषधि, नगद तथा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँका दुई स्थानबाट तीन जना, झापा र सुनसरीबाट दुई–दुई जना तथा पर्सा, लमजुङ र बर्दियाबाट एक–एक जना पक्राउ परेका छन् । त्यस्तै, कैलालीका दुई स्थानबाट तीन जना पक्राउ परेका हुन् ।

    प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटीबाट ब्राउनसुगरजस्तो देखिने चार ग्राम २५० मिलिग्राम पदार्थ र २० हजार २०० रुपैयाँ नगदसहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ का ३९ वर्षीय छिरीङ शेर्पा पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–३२ जडिबुटीबाट पनि छ ग्राम ७४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।

    पूर्वी नेपालमा पनि प्रहरीले लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ। झापाको झापा गाउँपालिका–५ खयरबारीबाट एक ग्राम ९५ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाह्रदशी गाउँपालिका–२ का २४ वर्षीय खड्ग राजवंशी र वडा नं। १ का २५ वर्षीय चैतन हेमरम पक्राउ परेका छन् ।

    सुनसरीको कोशी गाउँपालिका–१ लौकही केराबारीबाट दुई ग्राम १७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुहबी नगरपालिका–३ का ३४ वर्षीय दीपक परियार र उदयपुरको बेलका नगरपालिका–३ का ३२ वर्षीय बलबहादुर थापा पक्राउ परेका छन् ।

    वीरगञ्जमा प्रहरीले चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न पाइने नियन्त्रित औषधिसहित एक जनालाई पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ बसपार्कबाट डाइजेपाम २७ एम्पुल, फेनारगन २९ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुलसहित धादिङको ज्वालामुखी गाउँपालिका–२ का २० वर्षीय निमा लामा शेर्पा पक्राउ परेका हुन् ।

    कैलालीको धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित गोकुलेश्वर चौलानी होटलको कोठा तलासी गर्दा १२७ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ बरामद भएको छ । उक्त पदार्थसहित डोटीको जोरायल गाउँपालिका–२ का २५ वर्षीय अमरबहादुर कुँवर पक्राउ परेका छन्। त्यस्तै, भजनी नगरपालिका–३ कुसुमघाटबाट एक ग्राम ५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । उनीहरूमध्ये रोशन सार्कीले प्रयोग गरेको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

    गण्डकी प्रदेशको लमजुङमा पनि नियन्त्रित औषधिसहित एक जना पक्राउ परेका छन्। बेँसीसहर नगरपालिका–१ देउरालीडाँडाबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन १०–१० एम्पुलसहित बेँसीसहर नगरपालिका–८ भुलभुलेका ३० वर्षीय सुजन तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ ।

    त्यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णाली पुलबाट दुई ग्राम ७१० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाँकेको कोहलपुर नगरपालिका–९ का २१ वर्षीय सुशील परियार पक्राउ परेका छन्।

    प्रहरीले पक्राउ परेका सबैमाथि लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images