काठमाडौं – अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक विकसित न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएपछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव भने कायमै छ । हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ ।
महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक बदली रहने पूर्वानुमान छ । हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, आज राति पनि देशभर आंशिक बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ ।
तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई सेवामा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।























