images
images
  • वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

    काठमाडौं – लगातारको वर्षाका कारण खहरेखोलामा आएको बाढी र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । सडकमा लेदोसहित ढुङ्गामाटो थुप्रिनु र पहिरो खस्दा मुख्य राजमार्ग तथा स्थानीय सडकमा यातायात प्रभावित भएको हो ।

    प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजे जारी गरेको सूचनाअनुसार काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं. ८ गिम्दीबेँसीस्थित बीपी राजमार्ग अवरुद्ध भएको छ । खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

    त्यस्तै, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा माथिबाट लेदोसहितको पहिरो खसेको छ । पहिरोका कारण करिब १५ मिटर सडक अवरुद्ध हुँदा उक्त सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन ।

    ललितपुरमा पनि वर्षाका कारण दुई सडकखण्ड प्रभावित भएका छन् । ललितपुर महानगरपालिका–२ सुन्दरीघाटस्थित बागमती खोला करिडोरको सडकमा खोलाको जलसतह बढेपछि आवागमन अवरुद्ध भएको छ ।

    यसैगरी, बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचे क्षेत्रमा कान्ति लोकपथमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    लगातारको वर्षाका कारण सडकमा लेदो, ढुङ्गामाटो र पहिरो खस्ने जोखिम रहेकाले सम्बन्धित सडकखण्डमा यात्रा गर्ने यात्रुलाई सतर्कता अपनाउन तथा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images