काठमाडौं – भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमबारे चेतावनी जारी भएपछि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन घट्न थालेको छ । दसैँपछि दैनिक पाँच हजारभन्दा बढी पर्यटक भित्रिने गरेको मुस्ताङमा बुधबारदेखि पर्यटकको सङ्ख्या करिब आधाले घटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले बिहीबारदेखि शनिबारसम्म मौसम प्रतिकूल रहने र हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम हुन सक्ने भन्दै छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गरेका थिए । मौसम पूर्वानुमान महाशाखाको सूचनालाई आधार मानेर प्रशासन र स्थानीय तहले सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै हिमाली तथा उच्चपहाडी क्षेत्रमा पदयात्रा नगर्न पर्यटक र सर्वसाधारणलाई आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतका अनुसार प्रतिकूल मौसमको चेतावनीपछि पर्यटकको आवागमन क्रमशः घटेको हो। बुधबार बेनी–जोमसोम सडकमार्ग हुँदै २ हजार ८३४ जना मुस्ताङ भित्रिएका थिए। तर, यो सङ्ख्यामा दसैँ बिदामा घर गएका कर्मचारी, सुरक्षाकर्मी र स्थानीय नागरिकसमेत कार्यक्षेत्र तथा जिल्ला फर्किएका व्यक्ति पनि समावेश छन् ।
हिमपातको सूचना जारी भएपछि बिहीबार म्याग्दी र मुस्ताङको सीमावर्ती घाँसाबाट ७७९ वटा सवारीसाधन मुस्ताङ प्रवेश गरेका थिए। यता, बुधबार मात्रै ३ हजार ३१२ जना मुस्ताङबाट बाहिरिएका छन् । प्रहरी निरीक्षक महतका अनुसार सो दिन ७९९ वटा सवारीसाधन जिल्ला बाहिरिएका थिए।
मुस्ताङको प्रमुख धार्मिक गन्तव्य मुक्तिनाथमा दर्शनार्थीको सङ्ख्या पनि घटेको छ। दुई दिनअघिसम्म दैनिक औसत पाँच हजारभन्दा बढीले दर्शन गर्ने गरेकोमा बुधबार २ हजार ४७९ जनाले मात्रै दर्शन गरेका थिए । तीमध्ये १ हजार ३०० नेपाली, सार्क राष्ट्रका १ हजार १५० र अन्य मुलुकका २१ जना पर्यटक रहेको प्रहरी निरीक्षक महतले जानकारी दिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को इलाका संरक्षण कार्यालय जोमसोमले पनि मौसम प्रतिकूल हुने सूचनापछि विदेशी पर्यटकको आगमन घटेको जनाएको छ । कार्यालय प्रमुख राजेश गुप्तका अनुसार हिमपात र वर्षाको जोखिमबारे सूचना जारी हुनुअघि मुस्ताङमा दैनिक एक हजारभन्दा बढी विदेशी पर्यटक आउने गरेका थिए। बिहीबार उक्त सङ्ख्यामा करिब २५ प्रतिशतले कमी आएको उनले बताए ।
एक्यापको पर्यटक परमिट चेकपोस्टका अनुसार पछिल्लो चार दिनमा ३ हजार ९६९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । अक्टोबर २५ मा ९९४, अक्टोबर २६ मा १ हजार ६०, अक्टोबर २७ मा ९१६ र अक्टोबर २९ साँझ ६ बजेसम्म ६०१ जना विदेशी पर्यटक भित्रिएका थिए । मुस्ताङ आएका विदेशी पर्यटकमध्ये १३० जना जोमसोमबाट बाहिरिएको एक्याप प्रमुख गुप्तले जानकारी दिए ।
यसैबीच, लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमलाई ध्यानमा राख्दै कोरला नाका तथा आसपासका क्षेत्रमा यात्रा नगर्न र सवारीसाधन नचलाउन सार्वजनिक अनुरोध गरेका छन् ।
हिमपातका कारण सडकमा हिउँ जम्ने, सवारी दुर्घटना हुन सक्ने तथा अत्यधिक चिसोले स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै उनले बिहीबारदेखि शनिबारसम्म उपल्लो मुस्ताङको यात्रा नगर्न आग्रह गरेका हुन् । यात्रामा रहेकालाई पनि उच्च सतर्कता अपनाउन उनले अनुरोध गरेका छन् ।





















