काठमाडौं – विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सका वालेटबाट करिब ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको क्रिप्टो सम्पत्ति बाहिरिएको छ । अमेरिकी ब्लकचेन अनुसन्धान संस्था टीआरएम ल्याब्सले यसलाई क्रिप्टोकरेन्सी इतिहासकै सबैभन्दा ठूलो चोरीका रूपमा विश्लेषण गरेको छ ।
बाइनान्सले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक विवरणमा घटनाबाट करिब ६ अर्ब ३० करोड डलर बराबरको क्षति भएको अनुमान गरेको छ । कम्पनीले सुरक्षा जोखिमको अनुसन्धान र प्रणाली जाँचका लागि निक्षेप तथा रकम झिक्ने सेवा अस्थायी रूपमा बन्द गरेको जनाएको छ । बाइनान्सका अनुसार ब्लकचेन साझेदारहरूको सहयोगमा करिब ३ अर्ब डलर बराबरका प्रभावित सम्पत्ति रोक्का गरिएको छ ।
कम्पनीको प्रारम्भिक अनुसन्धानले बाइनान्सका एक डेभअप्स इन्जिनियरको ल्यापटपमा अनधिकृत पहुँच बनाएर आक्रमणकारीले सेवा प्रणालीमा प्रवेश गरेको र त्यसैमार्फत अनुमति नलिइएका रकम स्थानान्तरण गरेको देखाएको छ । कम्पनीले हालसम्म वालेटका निजी ‘की’ चुहिएको प्रमाण फेला नपरेको जनाएको छ ।
बाइनान्सले घटनाबाट भएको सम्पूर्ण नोक्सानी आफ्नै सुरक्षित सम्पत्ति कोष (सेफु फन्ड) र कम्पनीको कोषबाट व्यहोर्ने तथा प्रयोगकर्ताको रकम सुरक्षित रहेको दाबी गरेको छ । घटनाको प्राविधिक अनुसन्धान पूरा भएपछि विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने पनि कम्पनीले जनाएको छ ।
टीआरएम ल्याब्सको विश्लेषणअनुसार अक्टोबर २९ मा आक्रमणकारीले बाइनान्सका वालेटबाट १० वटा ब्लकचेन नेटवर्क हुँदै करिब ६ अर्ब ३६ करोड डलर बराबरको क्रिप्टो सम्पत्ति स्थानान्तरण गरेको थियो। तीमध्ये अधिकांश रकम करिब २० मिनेटभित्र बाहिरिएको थियो । टीआरएमले चोरीमा उत्तर कोरियासँग सम्बन्धित ‘ट्रेडरट्रेटर’ नामक ह्याकिङ समूह संलग्न रहेको उच्च विश्वासका साथ निष्कर्ष निकालेको छ । उक्त समूहलाई ‘लाजारस ग्रुप’सँग पनि जोडिएको छ ।
टीआरएमका अनुसार यसअघि पनि उत्तर कोरियाली ह्याकरमाथि सन् २०२५ मा क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइबिटबाट करिब १ अर्ब ५० करोड डलर बराबरको सम्पत्ति चोरी गरेको आरोप लागेको थियो। बाइनान्सको पछिल्लो घटनाले उक्त चोरीको रेकर्डलाई उछिनेको छ । टीआरएमको विश्लेषणमा यस घटनामा विभिन्न ब्लकचेन नेटवर्कबाट रकम सारिएको र चोरी भएको सम्पत्तिको केही हिस्सा रोक्का गर्न सफल भएको उल्लेख छ ।
टीआरएमका नीतिसम्बन्धी विश्वव्यापी प्रमुख एरी रेडबोर्डले घटनालाई अभूतपूर्व भन्दै यसले क्रिप्टो चोरीलाई विश्वव्यापी सुरक्षा चुनौतीका रूपमा उजागर गरेको बताएका छन् । उनका अनुसार उत्तर कोरियाली समूहले यसरी ठूलो रकम चोरी गर्दा त्यसबाट हतियार प्रसारलगायत अस्थिर गतिविधिमा आर्थिक स्रोत जुट्न सक्ने जोखिम रहन्छ ।
घटनाको प्रभाव क्रिप्टोकरेन्सी बजारमा पनि देखिएको छ । बाइनान्समा सुरक्षा समस्या सार्वजनिक भएपछि बिटक्वाइनको मूल्य करिब पाँच प्रतिशतले घट्दै ७७ हजार डलरभन्दा तल झरेको अलजजिराले जनाएको छ । अन्य क्रिप्टो सम्पत्तिको मूल्यमा पनि गिरावट आएको थियो ।
सिड्नीस्थित म्याक्वेरी विश्वविद्यालयका क्रिप्टो बजारसम्बन्धी विज्ञ सीन फोलीले बाइनान्सजस्तो ठूलो केन्द्रीकृत एक्सचेन्जमा भएको आक्रमणले लगानीकर्ताको विश्वासमा असर पार्न सक्ने बताएका छन् । उनका अनुसार यस्तो घटनाले केन्द्रीकृत एक्सचेन्जमा सम्पत्ति राख्दाको जोखिम उजागर गर्नुका साथै केही लगानीकर्तालाई विकेन्द्रीकृत विकल्पतर्फ आकर्षित गर्न सक्छ ।
बाइनान्सका संस्थापक चाङपेङ झाओले पनि यसअघि एक्सचेन्जमा साइबर आक्रमण भएको जस्तो देखिएको बताएका थिए । उनले आफू अहिले बाइनान्सको दैनिक व्यवस्थापनमा संलग्न नरहेको उल्लेख गर्दै प्रयोगकर्ताको रकम पूर्ण रूपमा सुरक्षित राखिने अपेक्षा व्यक्त गरेका छन् ।
यसअघि सन् २०२५ मा बाइबिटमा भएको करिब १ अर्ब ५० करोड डलर बराबरको चोरीलाई क्रिप्टोकरेन्सी क्षेत्रमा भएको सबैभन्दा ठूलो साइबर चोरी मानिँदै आएको थियो । टीआरएमको सन् २०२६ को क्रिप्टो अपराधसम्बन्धी प्रतिवेदनअनुसार सन् २०२५ मा करिब १५० वटा ह्याकिङ घटनामा साइबर अपराधीहरूले कुल २ अर्ब ८७ करोड डलर बराबरको क्रिप्टो सम्पत्ति चोरी गरेका थिए ।






















