काठमाडौं – सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म सप्तकोशी नदीमा तीन किलोमिटर लामो नयाँ पुल निर्माण गर्ने तयारी गरिएको छ । पुरानो हुँदै गएको कोशी ब्यारेजको विकल्पका रूपमा प्रस्तावित उक्त पुल निर्माणका लागि करिब ४३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।
सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालका अनुसार केही वर्षअघि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० का आधारमा पुल निर्माणको प्रक्रिया अघि बढाइएको हो। एसियाली विकास बैंकको सहयोगमा निर्माण गर्ने प्रस्ताव गरिएको यस परियोजनाअन्तर्गत पुलसँगै ४३ किलोमिटर नयाँ सडकसमेत निर्माण गरिनेछ ।
निर्देशक ढकालले पुल तथा सडक निर्माणका लागि आवश्यक प्राविधिक तयारी भइरहेको जानकारी दिए। उनका अनुसार अहिले समग्र संरचना निर्माणका लागि आवश्यक प्रक्रियागत काम अघि बढाइएको छ ।
प्रस्तावित पुल र सडक सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्गको दूरी करिब १४ किलोमिटर छोटिने विभागको अनुमान छ । यसले पूर्वी नेपालको यातायात आवागमनलाई सहज बनाउनुका साथै कोशी ब्यारेजमाथिको सवारी चाप व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तर, परियोजना क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएकाले वातावरणीय प्रभाव मूल्याङ्कन तथा कानुनी स्वीकृतिसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्नेछ । यही कारण निर्माण प्रक्रिया अघि बढाउन केही विषयमा थप काम भइरहेको विभागले जनाएको छ ।
कोशी ब्यारेज पुरानो हुँदै गएको र त्यस क्षेत्रमा सवारी चाप बढ्दै गएको अवस्थामा प्रस्तावित नयाँ पुललाई वैकल्पिक यातायात मार्गका रूपमा हेरिएको छ । यद्यपि, निर्माण सुरु हुने मिति र आयोजना सम्पन्न गर्ने समयसीमाबारे स्पष्ट विवरण सार्वजनिक भएको छैन ।




















