काठमाडौं – तिहार तथा छठ पर्व नजिकिँदै गर्दा सीमावर्ती क्षेत्रमा भन्सार छली गरी भित्र्याइएका सामानविरुद्ध सुरक्षा निकायले निगरानी बढाएका छन् । यसैक्रममा रौतहट र सर्लाहीबाट प्रहरीले २८ लाख रुपैयाँभन्दा बढी मूल्यका कपडा तथा पटका बरामद गरेको छ ।
रौतहटको गौर नगरपालिका–१ मा बिहीबार राति सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले मनोज साह ९छोट्का० को घरमा खानतलासी गर्दा ११ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न प्रकारका कपडा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाका आधारमा राति करिब ११ बजे सशस्त्र प्रहरी बल गौर गुल्मका डीएसपी दुर्गाप्रसाद भट्ट र भन्सार सुरक्षा गार्डका वरिष्ठ प्रहरी नायब निरीक्षकको संयुक्त कमान्डमा खटिएको टोलीले घरमा छापा मारेको थियो। बरामद कपडा भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याइएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, सर्लाहीको मलंगवा नगरपालिका–१ भेडेहियास्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब १७ लाख ३५ हजार रुपैयाँ बराबरका पटका तथा कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मलंगवा, गण अगर्बा र बीओपी खुटौनाबाट खटिएको ६२ जनाको संयुक्त टोलीले बिहीबार राति करिब ९ बजे देवनारायण यादव र योगेन्द्र यादवको घर तथा गोठमा खानतलासी गरेको थियो । त्यसक्रममा लुकाइराखिएको अवस्थामा करिब १५ लाख रुपैयाँका पटका र २ लाख ३५ हजार रुपैयाँका कपडा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका एसपी अमरबहादुर खत्रीका अनुसार बरामद कपडा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मलंगवा भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ ।
चाडपर्वका बेला पटका तथा भन्सार छलीका सामानको अवैध ओसारपसार बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा निगरानी र गस्ती तीव्र पारिएको सुरक्षा निकायले जनाएको छ ।






















