काठमाडौं – इलामको माङसेबुङ गाउँपालिका–६ टोड्केमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि स्थानीय बासिन्दालाई घरआँगनमै स्वास्थ्य सेवा लिन सहज भएको छ । भौगोलिक रूपमा विकट यस क्षेत्रका नागरिकले सामान्य स्वास्थ्य परीक्षण र औषधि लिनसमेत दिनभर हिँडेर चिसोपानी पञ्चमीस्थित बाँझो पुग्नुपर्ने बाध्यता हटेको छ ।
टोड्केका ८७ वर्षीय लालप्रसाद राईले पहिलोपटक घरनजिकै स्वास्थ्य सेवा पाउँदा खुसी लागेको बताए । “सामान्य स्वास्थ्य परीक्षण गर्न र नियमित औषधि लिन पञ्चमी पुग्न टोड्केबाट दिनभर हिँड्नुपर्ने बाध्यता थियो,” उनले भने, “आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएपछि समयमै सहज रूपमा स्वास्थ्य सेवा पाएका छौँ।”
त्यस्तै, ७३ वर्षीया फूलकुमारी राईले पनि घरनजिकै स्वास्थ्य केन्द्र सञ्चालन भएपछि सामान्य बिरामी हुँदा टाढा जानुपर्ने समस्या हटेको बताइन् ।
गाउँपालिकाले टोड्के, कुसुण्डे, मालिबाँसेलगायत आसपासका बस्तीका नागरिकलाई लक्षित गरी स्वास्थ्य केन्द्र स्थापना गरेको हो । केन्द्र सञ्चालनमा आएपछि ती क्षेत्रका २०० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।
केन्द्रको आफ्नै भवन निर्माण नभएसम्म स्थानीय महिला सचेतना केन्द्रको भवनबाट सेवा सञ्चालन गरिएको छ । गाउँपालिका अध्यक्ष हेमन्त राईले केन्द्रको उद्घाटन गर्दै दुर्गम बस्तीका नागरिकसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको बताए । उनका अनुसार केन्द्रमा आवश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ ।
हाल केन्द्रमा दुई जना अहेव खटाइएको छ । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार राईका अनुसार केन्द्रबाट स्वास्थ्य परीक्षण, प्राथमिक उपचार, निःशुल्क औषधि वितरण, स्वास्थ्य परामर्श तथा खोप सेवा उपलब्ध गराइनेछ ।
छ वटा वडा रहेको माङसेबुङ गाउँपालिकाले सञ्चालनमा ल्याएको यो दशौँ स्वास्थ्य संस्था हो । गाउँपालिका उपाध्यक्ष विनोद नेम्वाङले भौगोलिक रूपमा फराकिलो टोड्के क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने अवस्थालाई ध्यानमा राखेर केन्द्र स्थापना गरिएको बताए ।
यसअघि सामान्य उपचारका लागि समेत लामो दूरी हिँड्नुपर्ने बाध्यता रहेका स्थानीयका लागि नयाँ स्वास्थ्य केन्द्रले आधारभूत स्वास्थ्य सेवामा पहुँच सहज बनाउने अपेक्षा गरिएको छ ।






















