काठमाडौं– भारतको गुजरात राज्यस्थित वडोदरामा एउटै परिवारका तीन सदस्य मृत फेला परेका छन्। चार दरवाजा क्षेत्रको डाला पटेल पोलस्थित घरभित्र आमा, छोरा र छोरीको शव फेला परेको हो।
बीबीसी गुजरातीका सहयोगी पत्रकार हार्दिकका अनुसार ५० वर्षीया आरतीबेन सोनी, उनका २३ वर्षीय छोरा नीलकण्ठ सोनी र २० वर्षीया छोरी झलक सोनी दुई दिनदेखि घरबाहिर नदेखिएपछि स्थानीय बासिन्दा र आफन्तलाई शंका लागेको थियो।
घर लामो समयदेखि भित्रबाट बन्द रहेको देखेपछि छिमेकीले आफन्तलाई खबर गरेका थिए। त्यसपछि अक्टोबर २८ बुधबार उनीहरूले प्रहरी नियन्त्रण कक्षमा सूचना दिएका थिए। सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गर्दै परिवारका तीनै सदस्यको मृत्युको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ।
परिवारमा के भएको थियो ?
करिब एक वर्षअघि परिवारका अभिभावक चेतनभाइ सोनीको हृदयाघातका कारण निधन भएको थियो। त्यसपछि क्यानडामा अध्ययन गरिरहेका उनका छोरा नीलकण्ठ पनि वडोदरा फर्किएका थिए।
परिवारले जुना पादरा रोडमा आयुर्वेदिक औषधिको व्यवसाय सञ्चालन गर्दै आएको थियो। आर्थिक रूपमा सम्पन्न मानिएको परिवारका तीनै सदस्यले एकैपटक यस्तो कदम चाल्नुको कारणबारे आफन्तसमेत अनभिज्ञ देखिएका छन्।
आफन्तका अनुसार चेतनभाइको निधनपछि परिवारले कठिन परिस्थितिको सामना गर्दै आएको भए पनि उनीहरूले त्यसलाई सम्हाल्ने प्रयास गरेका थिए। छोरा नीलकण्ठ क्यानडाबाट फर्किएपछि पारिवारिक व्यवसाय सम्हाल्दै आएका थिए।
परिवारका सदस्य आर्थिक समस्या वा अन्य कुनै गम्भीर समस्यामा रहेको आफूहरूलाई जानकारी नभएको आफन्तले बताएका छन्।
‘ढोका खोलेर भित्र हेर्दा स्तब्ध भएँ’
मृतक परिवारका आफन्त तथा व्यावसायिक साझेदार केतन शाहले घटनाबारे आफू स्तब्ध भएको बताएका छन्।
उनका अनुसार पसलबाट घर पुग्दा ढोका बन्द थियो। फोन गर्दा पनि कसैले नउठाएपछि ढोका खोलेर भित्र हेर्दा तीनै जनालाई मृत अवस्थामा भेटेका थिए।
केतन शाहले भने, ‘मैले पसलबाट यहाँ आएर फोन गरेँ, तर कसैले उठाएनन्। ढोका खोलेर भित्र हेर्दा जे देखेँ, त्यसले मलाई स्तब्ध बनायो।’
उनका अनुसार परिवारका एक काका नजिकै बस्दै आएका थिए। उनीहरूलाई खबर गरेर घटनास्थल बोलाइएको थियो। ती व्यक्ति आयुर्वेदिक अस्पतालका साझेदारसमेत रहेको शाहले बताए।
उनले उक्त परिवारसँग आफू १२ वर्षदेखि परिचित रहेको र व्यवसायमा आर्थिक हिसाबले कुनै समस्या नरहेको दाबी गरेका छन्।
शाहका अनुसार व्यवसायमा लगानी आफूहरूको भए पनि सञ्चालनको जिम्मेवारी सोनी परिवारले सम्हाल्दै आएको थियो। आफूहरूले कहिल्यै हिसाबकिताबसमेत नमागेको उनको भनाइ छ।
उनले आफू सुनचाँदीको व्यवसायमा संलग्न रहेको र त्यसका लागि छुट्टै प्राइभेट लिमिटेड कम्पनी स्थापना गरेको पनि बताए। उक्त कम्पनीमा आफ्नो परिवारसँगै नीलकण्ठ, आरतीबेन र उनकी छोरी जेनी सोनी साझेदार रहेको उनले जानकारी दिएका छन्।
प्रहरीको अनुसन्धानमा के खुल्यो ?
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै वडोदरा प्रहरीका वरिष्ठ अधिकारी, फरेन्सिक साइन्स ल्याबोरेटरी (एफएसएल) को टोली र स्थानीय प्रहरी घटनास्थल पुगेका थिए।
वडोदरा सहरका डीसीपी एन्ड्रयु म्याकवानले घरभित्र प्रवेश गर्दा तीनै जना मृत अवस्थामा फेला परेको बताएका छन्। मृतकमा आरतीबेन सोनी, उनका छोरा नीलकण्ठ र छोरी झलक रहेको उनले जानकारी दिए।
त्यस्तै वडोदरा प्रहरीका एसीबी जीबी बामनियाले बीबीसी गुजरातीलाई दिएको जानकारीअनुसार घटनास्थलबाट सुसाइड नोटसमेत फेला परेको छ।
प्रहरीका अनुसार प्रारम्भिक पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेको छ। घरबाट भेटिएको एउटा सुसाइड नोट आरतीबेनको हस्तलेखनमा रहेको बताइएको छ। उक्त नोटमा आर्थिक अभावका कारण आत्महत्या गरेको उल्लेख गरिएको प्रहरीको भनाइ छ।
सुसाइड नोटमा ३३ लाख भारतीय रुपैयाँ ऋण रहेको विषय पनि उल्लेख भएको बामनियाले बताएका छन्।
त्यसैगरी झलक र नीलकण्ठले लेखेको अर्को सुसाइड नोट पनि फेला परेको प्रहरीले जनाएको छ। उक्त नोटमा श्रीमान्को निधनपछि आरतीबेन डिप्रेसनबाट गुज्रिरहेको र ऋणका कारण छोराछोरीसमेत मानसिक तनावमा रहेको उल्लेख गरिएको छ।
घटनाको थप अनुसन्धानका लागि प्रहरीले तीनै जनाको मोबाइल फोन फरेन्सिक परीक्षण गर्न प्रयोगशालामा पठाएको छ।
आफन्त अझै घटनालाई विश्वास गर्न सकिरहेका छैनन्
मृतकका आफन्त हितेशभाइ सोनीले घटनाले आफूहरूलाई गहिरो दुःख र आश्चर्यमा पारेको बताएका छन्।
उनले बीबीसीसँग भने, ‘हामीले सपनामा पनि यस्तो होला भनेर सोचेका थिएनौँ। यो हाम्रा लागि अत्यन्त दुःखद घटना हो।’
परिवार आर्थिक संकटमा रहेको आफूहरूलाई जानकारी नभएको उनको भनाइ छ। हालै उनीहरूले एउटा फ्ल्याट भाडामा लिएर त्यहीँ बस्ने योजना बनाएको जानकारी पाएको उनले बताए।
आर्थिक समस्याकै कारण यस्तो घटना भएको हो भन्नेमा आफूहरू विश्वस्त नरहेको उनको भनाइ छ। परिवारका अन्य आफन्त र दाजुभाइ आर्थिक रूपमा सम्पन्न रहेको उनले उल्लेख गरेका छन्।
एक वर्षअघि परिवारका अभिभावक चेतनभाइको निधन भएपछि छोरा नीलकण्ठ क्यानडाबाट फर्किएर वडोदरामै बस्दै आएका थिए।
प्रहरीले सुसाइड नोट, मोबाइल फोनको फरेन्सिक परीक्षण र अन्य प्रमाणका आधारमा घटनाको थप अनुसन्धान गरिरहेको छ।
-बीबीसी हिन्दीबाट






















