images
images
  • शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’को प्रभाव कम हुँदै जाने

    काठमाडौं – नेपालमा चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि क्रमशः कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवातका कारण भइरहेको वर्षाको गतिविधि पनि त्यसपछि घट्दै जाने महाशाखाको अनुमान छ ।

    महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसमविद् डेभिड ढकालले शनिबार अपराह्नदेखि चक्रवातको प्रभाव क्रमिक रूपमा कमजोर हुने भए पनि स्थानीय मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गरेका छन् ।

    भारतमा शक्तिशाली चक्रवातका रूपमा विकसित भएको ‘अर्नब’ नेपाल प्रवेश गर्ने क्रममा कमजोर भई न्यूनचापीय प्रणालीमा परिणत भएकाले यहाँ वर्षा, हिमपात र हावाहुरीको असर सामान्य रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा बदली रहनेछ । ती प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

    शनिबार राति पनि देशका अधिकांश स्थानमा बदली रहने पूर्वानुमान छ । यस अवधिमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने र केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोशी मौसम मापन केन्द्रमा सबैभन्दा बढी ५०.२ मिलिमिटर वर्षा मापन भएको छ । यही अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images