काठमाडौं – रौतहटमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा प्रहरी जवान सुभाष चौधरीको मृत्यु भएको छ भने उनकी श्रीमती प्रहरी जवान निशा खड्का गम्भीर घाइते भएकी छन् । बिहीबार साँझ भएको दुर्घटनामा एक प्रहरी परिवारमा दुःखद घटना भएको हो ।
फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा बिहीबार साँझ करिब ६ः३० बजे दुधिअवा–बालचनपुर सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना २ त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। मोटरसाइकलमा सवार गुजरा नगरपालिका–४ पोखरभिन्डाका ३५ वर्षीय चौधरी र उनकी ३० वर्षीया श्रीमती खड्का दुर्घटनामा घाइते भएका थिए।
दुवैलाई तत्काल एम्बुलेन्समार्फत वीरगन्जस्थित बयोधा अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा बिहीबार राति ८ः१० बजे चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए । उनकी श्रीमती खड्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मृतक चौधरी बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा प्रहरी जवानका रूपमा कार्यरत थिए। उनकी श्रीमती निशा खड्का पनि प्रहरी जवान हुन् ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।





















