काठमाडौं – भुटानको गासा जिल्लास्थित शिन्ताफु हिमताल फुटेको आशंका गरिएको छ । बिहीबार साँझ पुनात्साङछु नदीमा एक्कासि ठूलो बाढी आएपछि हिमताल विस्फोटका कारण पानीको बहाव बढेको हुन सक्ने अनुमान गरिएको हो ।
प्रारम्भिक विवरणअनुसार वाकिला पर्वतको फेदीमा रहेको हिमतालबाट करिब ७४ लाख घनमिटर पानी बाहिरिएको आशंका गरिएको छ । यद्यपि हिमताल फुटेको आधिकारिक पुष्टि तथा बाढीबाट भएको क्षतिको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन । भुटान र भारतका अधिकारीहरूले नदीको जलस्तर र पानीको बहाव निरन्तर निगरानी गरिरहेका छन् ।
बाढीको बहावले भुटानको लाया क्षेत्र जोड्ने सडकको केही भाग बगाएपछि यातायातसमेत अवरुद्ध भएको बताइएको छ । घटनामा मानवीय क्षति भएको विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन ।
भुटानबाट बग्ने पुनात्साङछु नदी भारत प्रवेश गरेपछि संकोश नदीका रूपमा बग्छ । नदीमा पानीको सतह थप बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै भारतको पश्चिम बंगाल र असमका सीमावर्ती क्षेत्रमा सतर्कता अपनाइएको छ ।
पश्चिम बंगालको अलिपुरद्वार र असमको धुब्री जिल्लामा नदीको बहाव र जलस्तरमा निगरानी बढाउन निर्देशन दिइएको छ । संकोश नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ भने नदी किनारका बस्तीमा साइरन बजाएर स्थानीयलाई सचेत गराइएको बताइएको छ।
हिमतालबाट ठूलो परिमाणमा पानी बाहिरिएको आशंकापछि भुटानसँगै भारतका सीमावर्ती क्षेत्रमा सम्भावित बाढीको जोखिम बढेको छ । अधिकारीहरूले नदीको बहाव निगरानी गर्दै जोखिममा रहेका बस्तीलाई सतर्क रहन आग्रह गरेका छन् ।






















