images
images
  • जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

    काठमाडौं – जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने गरी तयारी अघि बढाइएको छ ।

    नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार उद्घाटनको मिति औपचारिक रूपमा तय भइसकेको छैन । तर प्रधानमन्त्री शाहको भारत भ्रमणकै क्रममा सेवा उद्घाटन गर्ने लक्ष्यसहित दुवै देशका सम्बन्धित निकायले तयारी गरिरहेका छन् । प्रधानमन्त्री शाहले आगामी मङ्सिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी रहेको छ ।

    “प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी हामी तयारीमा जुटेका छौँ,” पराजुलीले भने, “यस विषयमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ ।”

    रामायण सर्किटअन्तर्गत जनकपुरधाम र अयोध्यालाई रेलमार्फत जोड्ने योजनाका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी भइरहेको कम्पनीले जनाएको छ । रेल सेवा सञ्चालनका क्रममा नेपालतर्फको रेलखण्डमा नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको छ ।

    केही दिनअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमन अधिकारी सम्मिलित टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षण गरेको थियो । सीमापार रेल सेवा सञ्चालनका लागि आवश्यक व्यवस्थापन, सुरक्षा र भन्सारसम्बन्धी विषयमा दुवै पक्षबीच छलफल भइरहेको छ ।

    जनकपुरधामलाई सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको नगरीका रूपमा लिइन्छ । यी दुई धार्मिक तथा सांस्कृतिक गन्तव्य प्रत्यक्ष रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटमा तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

    जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले विशेष रेल सेवाले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ गर्नुका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने बताउनुभयो। उहाँका अनुसार यसले स्थानीय व्यापार, होटल तथा पर्यटनसँग सम्बन्धित आर्थिक गतिविधि बढाउनसमेत मद्दत गर्नेछ ।

    हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनमा आएपछि दुई देशका प्रमुख धार्मिक गन्तव्यबीचको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images