images
images
  • केदारनाथ मन्दिर भ्रमणलाई लिएर सारा अली खानमाथि मौलानाको आपत्ति

    काठमाडौं – बलिउड अभिनेत्री सारा अली खान केदारनाथ मन्दिरको भ्रमण र त्यहाँ प्रार्थना गरेको विषयलाई लिएर पुनः चर्चामा आएकी छन्। भारतको ‘अल इन्डिया मुस्लिम जमात’का राष्ट्रिय अध्यक्ष मौलाना शहाबुद्दिन रज्भीले उनको मन्दिर भ्रमणप्रति आपत्ति जनाउँदै माफी माग्न आग्रह गरेका छन् ।

    मौलाना रज्भीले सारा अली खानको हिन्दू मन्दिर र देवीदेवताप्रतिको आस्थालाई इस्लामिक मान्यताविपरीत भएको टिप्पणी गरेका छन्। उनका अनुसार इस्लाममा मूर्तिपूजालाई अनुमति छैन। मन्दिरमा गएर प्रार्थना गर्नु धार्मिक मान्यताको उल्लङ्घन भएको दाबी गर्दै उनले सारालाई आफ्नो कार्यप्रति पश्चात्ताप गर्न र अल्लाहसँग क्षमा माग्न आग्रह गरेका हुन् ।

    “कुनै पनि मुस्लिमले, चाहे उनीहरू सेलिब्रेटी नै किन नहून्, धार्मिक सीमाहरू नाघ्नु हुँदैन। इस्लामी कानुनले आफ्ना अनुयायीलाई ‘शिर्क’ अर्थात् अल्लाहसँग अरू कसैलाई साझेदार ठान्ने कार्य गर्न अनुमति दिँदैन,” मौलाना रज्भीको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    उनको टिप्पणी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन् । केहीले मौलानाको धार्मिक व्याख्यालाई समर्थन गरेका छन् भने केहीले सारा अली खानको व्यक्तिगत आस्था र धार्मिक स्थल भ्रमणको स्वतन्त्रताको पक्षमा धारणा राखेका छन् ।

    सारा अली खानको केदारनाथ धामसँग पुरानो सम्बन्ध छ। उनी पटक–पटक उक्त मन्दिर पुग्ने गरेकी छन्। उनका केदारनाथ भ्रमणका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक हुने गरेका छन्, जहाँ उनी अन्य तीर्थयात्रीसँगै प्रार्थना र पूजाआजामा सहभागी भएको देखिन्छ ।

    साराले सन् २०१८ मा चलचित्र ‘केदारनाथ’बाट बलिउडमा अभिनय यात्रा सुरु गरेकी थिइन् । केदारनाथ धामको पृष्ठभूमिमा बनेको उक्त चलचित्रमा उनले दिवंगत अभिनेता सुशान्त सिंह राजपूतसँग अभिनय गरेकी थिइन् । चलचित्रमा अभिनय गरेपछि पनि उनको केदारनाथ भ्रमण निरन्तर चर्चामा आउने गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images