काठमाडौं – यस पटकको एनपिएलमा सायद सबैभन्दा सनसनीपूर्ण प्रदर्शन नै सोमपाल कामीको हो । विराटनगर किङ्ससँगको खेलमा उनकै कारण कर्णाली याक्सले अस्वाभाविक सफलता पाएको हो । पहिलो पारीमा बलिङमा जादु देखाएको उनले दोस्रो पारीमा धुवाँदार ब्याटिङ गरे ।
उनले सो खेलमा ४ विकेट लिए । यस चार विकेटमा प्रतियोगिताको आकर्षण मानिएका आन्द्रे रसेलको विकेट पनि समावेश थियो । यसै गरी उनले एन्जेलो म्याथ्युज र लोकश बमको विकेट पनि लिए । बम सोमपालको बलमा आउट हुनु अघि सत्तक तर्फ उन्मुख थिए ।
ब्याटिङमा उनको कमाल नै देखियो । उनले ३७ बलमा अविजित रहँदै ६२ रन प्रहार गरे । उनको यो प्रदर्शन नै यस एनपिएलको सबै भन्दा चर्चा गर्न लायक प्रदर्शन हो । बिहीबारको पहिलो खेलमा भेट्रान इङ्लिस अलराउण्डर मोइन अलिको कारण जनकपुरले पहिलो सफलता पाएको हो । काठमाडौँ गोर्खासँगको खेलमा ११६ रन पछ्याएको जनकपुरले १७ ओभर २ बलमा लक्ष्य पुरा गरेको थियो । अलिले ५१ बलमा ५८ रन प्रहार गरे ।
उनले बलिङ तर्फ ४ ओभरमा २३ र खर्चेर १ विकेट लिए । उनको यो प्रदर्शन राहुल यादवको सानदार बलिङको छायामा परेको थियो ।यादवले ४ विकेट लिएर सनसनी मच्चाएका थिए । यस एनपिएलमा अलराउण्ड प्रदर्शनको कारण चर्चामा आएका अर्का स्टार सुदूर पश्चिमका दीपेन्द्र सिंह ऐरी हुन् उनले लुम्बिनी लायन्ससँगको पहिलो खेलमा २३ बलमा २७ रन बनाए । उनको टोलीमा सबै भन्दा धेरै रन बनाउने खेलाडी उनै थिए । उनले ३ ओभर ५ बल बलिङ गरेर ३१ रन खर्चेर १ विकेट लिए । सो खेलमा उनको टोली भो सात विकेटले पराजित भएको थियो ।
पोखरा एभेन्जरसँगको दोस्रो खेलमा भने उनी अझै जमे । उनले अविजित रहँदै ३६ बलमा ५१ रन जोडे । उनको पारीमा ४ चौका र २ छक्का समावेश थियो । ४ ओभर बलिङ गरेका उनले कुशल भुर्तेलको १ विकेट लिँदै २१ रन खर्चेका थिए । यस सिजनका एनपिएलका केही खेल मात्र देखिए । पुरा प्रतियोगितासम्ममा केही यसै किसिमको अलराउण्ड प्रदर्शन अन्य पनि देखिन सकिने छ ।






















