काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ जना सवारीचालक कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित तथा विशेष जाँचका क्रममा उनीहरू कारबाहीमा परेका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले गरिएको निगरानी तथा जाँचका क्रममा नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६८ जना, सीसीटीभी क्यामेराको निगरानीबाट पहिचान भएका ४० जना र ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने ३४ जना छन्। त्यस्तै, तीव्र गतिमा सवारी चलाउने १०३ जना, निषेधित क्षेत्रमा हर्न बजाउने नौ जना, सवारीसाधनको अवस्था ठीक नभएका आठ जना तथा एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने आठ जना कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३७३ जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।
कारबाहीमा परेका चालकलाई सवारी तथा यातायात व्यवस्थासम्बन्धी प्रचलित कानुनअनुसार जरिवानालगायत आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ ।
प्रवक्ता सुवेदीले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्नुको उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई सडक दुर्घटना न्यूनीकरण गर्नु र नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको बताए। विशेषगरी मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी हाँक्ने, ट्राफिक सङ्केतको बेवास्ता गर्ने तथा लापरवाहीपूर्वक सवारी चलाउने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले निगरानी र जाँचलाई निरन्तरता दिइएको उनले बताए ।
ट्राफिक प्रहरीले उपत्यकाका मुख्य सडक, चोक तथा सवारीसाधनको चाप बढी हुने क्षेत्रमा नियमित जाँच गर्नुका साथै सीसीटीभी क्यामेरामार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ। चालकको लापरवाहीले उनीहरू स्वयं, यात्रु र पैदलयात्रीसमेत जोखिममा पर्ने भएकाले सबैले ट्राफिक नियम अनिवार्य पालना गर्नुपर्नेमा प्रहरीले जोड दिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक अनुशासन कायम राख्न र दुर्घटना न्यूनीकरण गर्न नियमित निगरानी, जाँच तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। प्रहरीले सवारी चलाउँदा तोकिएको गति कायम राख्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक सङ्केत पालना गर्न र पैदलयात्रीको सुरक्षामा विशेष ध्यान दिनसमेत चालकलाई आग्रह गरेको छ ।























