काठमाडौं – भारत छाड्न जारी गरिएको सूचनाविरुद्ध बम्बे उच्च अदालत पुगेका बलिउड अभिनेता इमरान खानले तत्कालका लागि राहत पाएका छन्। अदालतले अर्को सुनुवाइ नभएसम्म केन्द्र सरकारको आदेश कार्यान्वयनमा अन्तरिम रोक लगाएको छ।
सुनुवाइका क्रममा अतिरिक्त सोलिसिटर जनरलले मुद्दाको सुनुवाइ सोमबारसम्मका लागि सार्न आग्रह गरेका थिए । त्यस अवधिमा अभिनेताविरुद्ध कुनै बाध्यकारी कारबाही नगरिने मौखिक आश्वासनसमेत दिइएको थियो । अदालतले मुद्दाको अर्को सुनुवाइ नोभेम्बर २ मा दिउँसो ३ बजेका लागि तोकेको छ । त्यतिन्जेल सम्बन्धित सूचनाको कार्यान्वयन रोकिएको छ ।
गत अक्टोबर १० मा मुम्बईको अगस्त क्रान्ति मैदानमा भएको विरोध प्रदर्शनमा सहभागी भएको विषयलाई लिएर प्रहरीले इमरान खानलाई सूचना जारी गरेको थियो । उक्त सूचनामा विदेशी तथा आप्रवासनसम्बन्धी कानुन उल्लङ्घन गरेको आरोप लगाउँदै उनलाई अक्टोबर २८ भित्र भारत छाड्न निर्देशन दिइएको थियो ।
इमरानले उक्त सूचनालाई चुनौती दिँदै बम्बे उच्च अदालतमा निवेदन दिएका थिए । उनको निवेदनमा सूचना गैरकानुनी र ठोस आधारबिना गलत बुझाइका कारण जारी गरिएको दाबी गरिएको छ । उनले सूचनालाई स्वेच्छाचारी भन्दै आफूलाई ‘बलिको बोको’ बनाउन खोजिएको आरोपसमेत लगाएका छन् ।
निवेदनमा भारतमा बसोबास गरिरहेका विदेशी नागरिकले पनि भारतीय संविधानको धारा १४ र २१ अन्तर्गत संरक्षण पाउनुपर्ने तर्क गरिएको छ । इमरान खान अमेरिकी नागरिक हुन् र उनीसँग अहिले ‘ओभरसिज सिटिजन अफ इन्डिया’ (ओसीआई) कार्ड मात्र रहेको बताइएको छ ।
इमरानले सन् १९८८ मा बाल कलाकारका रूपमा अभिनय यात्रा सुरु गरेका थिए । सन् २००८ मा ‘जाने तू…या जाने ना’ चलचित्रबाट मुख्य अभिनेताका रूपमा पदार्पण गरेका उनले त्यसपछि ‘किडन्याप’, ‘ब्रेक के बाद’, ‘मत्रु की बिजली का मन्डोला’, ‘एक मैं और एक तू’, ‘बम्बे टकिज’ र ‘गोरी तेरे प्यार में’ लगायतका चलचित्रमा अभिनय गरेका थिए ।
सन् २०१५ मा ‘कट्टी बट्टी’ मा देखिएपछि उनले चलचित्र क्षेत्रबाट विश्राम लिएका थिए। उपलब्ध विवरणअनुसार, सन् २०२६ मा ‘ह्याप्पी पटेलस् खतरनाक जासुस’ मार्फत उनले पुनरागमन गरेका हुन्।खतरनाक जासुस’ मार्फत उनले पुनरागमन गरेका हुन्।























