काठमाडौं – हिम पर्वत हाइड्रोपावर लिमिटेडले आज (कात्तिक ११ गते) देखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरका ५९ लाख १५ हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको छ। त्यसमध्ये १६ करोड ९० लाख रुपैयाँ बराबरका प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १६ लाख ९० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।
स्थानीय बासिन्दाका लागि छुट्याइएको शेयरमध्ये १० लाख १४ हजार कित्ता दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं। ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं। २, ३ र ४ का स्थायी बासिन्दालाई बाँडफाँट गरिनेछ । बाँकी ६ लाख ७६ हजार कित्ता भने ती दुवै गाउँपालिकाका अन्य वडाका स्थायी बासिन्दालाई वितरण गरिने कम्पनीले जनाएको छ ।
त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् ४ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरका ४ लाख २२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ। नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारी गरिरहेका नेपालीले यसमा आवेदन दिन सक्नेछन् ।
दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ आवेदन दिने म्याद छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गतेसम्म तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन खुला रहनेछ ।
आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
कम्पनीले सञ्चालन गरिरहेको २० मेगावाट क्षमताको साँगु खोला जलविद्युत् आयोजनाको कुल लागत ३ अर्ब ६५ करोड १७ लाख ८७ हजार २५४ रुपैयाँ रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत १८ करोड २५ लाख ८९ हजार ३६३ रुपैयाँ छ । यसको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि २८ वर्ष बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६।०९ वर्ष र डिस्काउन्टका आधारमा लगानी फिर्ता हुने अवधि ९.०८ वर्ष रहेको छ । यस आयोजनाबाट कम्पनीले २०८२ असोज २५ गतेदेखि विद्युत् उत्पादन गरिरहेको छ ।






















