काठमाडौं – गत असोज दोस्रो साताको बाढीपहिरोले म्याग्दीका सरकारी कार्यालयका भवन, महत्त्वपूर्ण कागजात र उपकरणमा क्षति पुर्याएपछि सेवा प्रवाह प्रभावित भएको छ। बाढीले कार्यालयका भुइँतलामा रहेका कोठा पुरिनुका साथै कम्प्युटर, फर्निचर, प्रिन्टर, अभिलेख र अन्य सामग्री नष्ट गरेपछि नियमित कामकाज सञ्चालन गर्न कठिन भएको हो ।
बेनी नगरपालिका–७ मा रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालय र बेनी नगरपालिकाको भवनमा असोज ११ गते बिहान बराहपाखोबाट आएको बाढी पसेर क्षति पुर्याएको थियो। बाढीले कार्यालयका भुइँतलाका कोठामा माटो र गेग्रान थुपारेपछि त्यहाँबाट दिइँदै आएको सेवा प्रभावित भएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले नयाँ भवनबाट सेवा सञ्चालन थालेको छ । तर, महत्त्वपूर्ण कागजात, अभिलेख, औजार, उपकरण र फर्निचर नष्ट भएकाले काम गर्न समस्या भइरहेको पशु विकास अधिकृत गोपाल गिरीले बताए ।
“नयाँ भवन निर्माण पूरा गरेर कार्यालय सञ्चालनमा ल्याएका छौँ। तर, कागजात, अभिलेख, औजार, उपकरण र फर्निचर बाढीले नष्ट गरेकाले समस्या भएको छ,” उहाँले भन्नुभयो, “यसअघि कार्यालय रहेका दुई भवनका भुइँतलाका सातवटा कोठामा रहेका सबै सामग्री र कागजात नष्ट भएका छन्।”
पशु अस्पताल सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले दुई वर्षअघि बेनी–७ मङ्गलाघाटमा ४७ लाख रुपैयाँ खर्चेर सातकोठे एकतले भवन निर्माण गरेको थियो। पुरानो कार्यालय भवन बाढीले पुरिएपछि सोही भवनबाट सेवा दिन थालिएको हो। कार्यालय परिसरमा पार्किङ गरेर राखिएका सवारीसाधनसमेत बाढीमा पुरिएका थिए।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र डिभिजन वन कार्यालय परिसरमा थुप्रिएको माटो तथा गेग्रान हटाउने काम अझै पूरा भएको छैन। सफाइमा समय लाग्दा क्षतिग्रस्त भौतिक संरचना पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिन भइरहेको छ ।
बाढीले बेनी नगरपालिकाको भवनमा पनि क्षति पुर्याएको थियो। भवनको भुइँतलामा रहेका कृषि तथा पशु सेवा शाखाले माटो पन्छाएर सेवा सञ्चालनमा ल्याएका छन्। तर, भेटेरिनरी अस्पताल र वन कार्यालयको नियमित कामकाज भने अझै सहज हुन सकेको छैन ।
डिभिजन वन कार्यालयको भुइँतलामा रहेको योजना शाखाका तीनवटा कोठामा बाढीले क्षति पुर्याएको छ। सवारीसाधन पार्किङ गर्ने ग्यारेजसमेत भत्किएको छ। कार्यालयका भुइँतलामा रहेका शाखा र कार्यकक्षलाई नजिकैको भू तथा जलाधार व्यवस्थापन कार्यालयको एकाइ भवनमा सारेर काम सुरु गरिएको डिभिजनल वन अधिकृत वसन्तकेशव अधिकारीले बताए ।
“जेनतेन कार्यकक्ष बनाएर काम सुरु गरेका छौँ । तर, फर्निचर, कम्प्युटर, अभिलेख, प्रिन्टर र कागजात नष्ट भएकाले समस्या भएको छ,” उनले भने, “क्षतिग्रस्त भवन मर्मतका लागि बजेटको अभाव पनि अर्को चुनौती बनेको छ।”
बाढीले भवन र भौतिक संरचनामा क्षति पुर्याउनुका साथै महत्त्वपूर्ण अभिलेख नष्ट गर्दा सरकारी कार्यालयको सेवा प्रवाहमा थप चुनौती देखिएको छ । वैकल्पिक स्थानमा कार्यकक्ष बनाएर काम सुरु गरिए पनि आवश्यक उपकरण र कागजातको अभावले नियमित कामकाज प्रभावित भएको छ। क्षतिग्रस्त संरचनाको मर्मत र नष्ट भएका सामग्रीको व्यवस्थापन हुन नसक्दा बाढीको असर सरकारी सेवा प्रवाहमा कायमै छ।






















