images
images
  • गाउँमा युवा छैनन्, भोजपुरका किसानलाई धान भित्र्याउनै सकस

    काठमाडौं – गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी र सहरतर्फ पलायन हुन थालेपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन समस्या हुन थालेको छ। वर्षभरि मेहनत गरेर फलाएको धान पाकेपछि भित्र्याउने समयमा कामदार नपाउँदा किसानलाई सास्ती भएको हो ।

    धान खेतीका लागि रोपाइँदेखि गोडमेलसम्म मेहनत गरेका किसानले अहिले बाली भित्र्याउन जनशक्ति खोज्नुपर्ने अवस्था छ । गाउँमा युवा घट्दै गएपछि धान काट्ने, बिटा बाँध्ने, खेतबाट खलोमा पुर्‍याउने, झाँट्ने, बत्ताउने र घरसम्म ओसार्ने काम प्रभावित भएको छ। विशेषगरी शारीरिक श्रम बढी लाग्ने यी कामका लागि कामदार पाउन कठिन हुँदै गएको स्थानीय किसान बताउँछन् ।

    टेम्केमैयुङ गाउँपालिका–६ का किसान बलबहादुर राईका अनुसार वैदेशिक रोजगारी र सहर केन्द्रित बसाइँसराइका कारण गाउँमा युवा जनशक्तिको अभाव बढेको छ । पहिले गाउँघरमै पर्याप्त कामदार पाइने गरे पनि अहिले धान थन्क्याउने समयमा मानिस खोज्नै मुस्किल हुने गरेको उ बताउछन् ।

    “गाउँमा खेती गर्ने युवा घट्दै गएका छन्। धान पाकेपछि काट्ने, बिटा बाँध्ने, बोकेर खलोमा पुर्‍याउने र झाँटेर घरसम्म भित्र्याउने काममा बलियो जनशक्ति चाहिन्छ। तर, अहिले गाउँमा युवा नहुँदा यी काम गर्न कठिन भएको छ,” राईले भने ।

    हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान जयबहादुर थापाका अनुसार गाउँमा युवा जनशक्ति नहुँदा महिला र ज्येष्ठ नागरिककै भरमा खेतीपाती गर्नुपर्ने अवस्था छ । परिवारका सदस्य मिलेर काम गर्नुपर्दा समय र श्रम दुवै बढी लाग्ने गरेको उहाँको भनाइ छ ।

    धान काट्ने र थन्क्याउने काममा शारीरिक श्रम बढी आवश्यक पर्ने भएकाले महिला तथा ज्येष्ठ नागरिकलाई थप कठिनाइ हुने किसान बताउँछन् । समयमा बाली भित्र्याउन नसक्दा पाकेको धान खेतमै रहने र मौसम प्रतिकूल भएमा उत्पादनमा क्षति पुग्न सक्ने चिन्तासमेत किसानमा छ।

    पहिले गाउँघरमा एकअर्काको खेतीमा सघाउने मेलापातको चलन थियो। छिमेकी र आफन्त मिलेर पालैपालो धान काट्ने तथा थन्क्याउने गरिन्थ्यो । तर, गाउँमा काम गर्ने मानिसको संख्या घट्दै गएपछि यस्तो परम्परागत श्रम आदानप्रदानको अभ्याससमेत कठिन बन्दै गएको छ ।

    कृषिमा जनशक्ति अभाव बढ्दै जाँदा खेतीको लागत बढ्ने र किसानको मेहनत थपिने अवस्था देखिएको छ। गाउँमा उपलब्ध जनशक्तिले मात्र खेतीपातीको काम धान्न नसक्दा किसानले बाली भित्र्याउने समयमै समस्या भोग्नुपरेको छ ।

    स्थानीय किसानले युवालाई गाउँमै बसेर कृषि उद्यम गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । कृषि क्षेत्रमा आधुनिक प्रविधि भित्र्याउने, कृषि औजारको प्रयोग बढाउने, किसानलाई आवश्यक तालिम तथा सहयोग उपलब्ध गराउने र उत्पादनको बजार सुनिश्चित गर्ने काममा स्थानीय सरकारले ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।

    गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सके युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न सकिने किसानको अपेक्षा छ। अन्यथा, खेती गर्ने जनशक्ति घट्दै जाँदा उत्पादनयोग्य जमिन बाँझिने र परम्परागत कृषि प्रणालीसमेत प्रभावित हुने जोखिम बढ्ने उनीहरू बताउँछन् ।

    भोजपुरका किसानका लागि अहिलेको मुख्य चुनौती धान फलाउनु मात्र होइन, पाकेको बाली समयमै भित्र्याउनु पनि बनेको छ । गाउँमा युवा अभाव बढ्दै जाँदा धान काट्ने मौसम किसानका लागि उत्सवभन्दा बढी श्रम र कामदार खोज्ने चिन्ताको समय बन्न थालेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images