काठमाडौं- अमेरिकाका अनुसन्धानकर्ताहरूका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित एउटा उपकरणले बिरामीको अनुहारको एउटा तस्बिर हेरेरै उसको स्वास्थ्य अवस्था कति गम्भीर छ भन्ने बुझ्न चिकित्सकलाई सहयोग गर्नसक्छ ।
वैज्ञानिकहरूका अनुसार यो उपकरणलाई लाखौं स्वस्थ व्यक्तिका अनुहार र क्यान्सरका बिरामीका ३५ हजार तस्बिर प्रयोग गरेर तालिम दिइएको छ । यसले विशेषगरी आँखाको वरिपरिको भागलाई सूक्ष्म रूपमा विश्लेषण गरेर बिरामी कति समयसम्म जीवित रहन सक्छ भन्ने अनुमान गर्नसक्छ।
अनुसन्धानकर्ताहरूले यो उपकरण अस्पतालमा प्रयोग गर्न योग्य बन्न अझै लामो समय लाग्ने बताएका छन् । तर उनीहरूको उद्देश्य चिकित्सकलाई बिरामीका लागि उपयुक्त उपचार छनोट गर्न सहयोग पुर्याउनु हो ।
यससम्बन्धी प्रारम्भिक अनुसन्धानको नतिजा ‘ल्यान्सेट डिजिटल हेल्थ’ नामक जर्नलमा प्रकाशित भएको छ ।
यो एआई उपकरणको नाम ‘फेससर्भाइभल’ हो । यसले कुनै व्यक्ति कति समयसम्म जीवित रहन सक्छ भन्ने अनुमान गर्दा अनुहारका विभिन्न भागमध्ये आँखामुनिको क्षेत्र र दुवै आँखाको बीचमा पर्ने नाकको माथिल्लो भागलाई सबैभन्दा बढी महत्त्व दिन्छ ।
बिरामीको जीवनप्रत्याशा अनुमान गर्दा उपकरणले अनुहारका यिनै भागबाट प्राप्त हुने संकेतलाई प्राथमिकता दिन्छ ।
अनुसन्धानकर्ताहरूका अनुसार यो विधि विभिन्न प्रकारका क्यान्सर भएका बिरामीमा पनि उपयोगी देखिएको छ । क्यान्सरको अवस्था सामान्यदेखि गम्भीरसम्म भएका बिरामीमा यसको परीक्षण गरिएको थियो । हड्डी वा मस्तिष्कसम्म क्यान्सर फैलिएका बिरामी पनि अध्ययनमा संलग्न थिए ।
यो उपकरण विकास गर्न प्रयोग गरिएका क्यान्सरका बिरामीका तस्बिरमध्ये अधिकांश अमेरिका र नेदरल्यान्ड्सका थिए । उनीहरूको उमेर ५० देखि ७० वर्षसम्म थियो । यद्यपि अध्ययनमा केही बालबालिका र ९० वर्षभन्दा बढी उमेरका व्यक्ति पनि सहभागी थिए ।
चिकित्सकहरूले बिरामीको स्वास्थ्य अवस्था र रोगको सम्भावित प्रगतिबारे जानकारी लिन यसअघि नै विभिन्न परीक्षण गर्दै आएका छन् । त्यसैले यो एआई उपकरणले चिकित्सकको मूल्याङ्कनलाई थप सहयोग गर्न सक्ने अपेक्षा गरिएको छ ।
यस उपकरणको पेटेन्टका लागि आवेदन दिइएको छ । तर त्यसले अझै स्वीकृति पाउन बाँकी छ । यसलाई चिकित्सकको सहयोगीका रूपमा विकास गरिएको हो, चिकित्सकको स्थान लिन भने होइन ।
बोस्टनस्थित मास जनरल ब्रिघम अस्पतालका प्रमुख अनुसन्धानकर्ता डा. रेमन्ड म्याकले मानिसको औसत आयु बढ्दै जाँदा चिकित्सकलाई विकीरण उपचार, शल्यक्रिया वा शरीरभरि प्रभाव पार्ने औषधिमार्फत गरिने उपचार जस्ता विकल्प छनोट गर्न उपयुक्त सल्लाह आवश्यक पर्ने बताए ।
उनका अनुसार यो उपकरणले बिरामीको शरीरमा उपचार सहन सक्ने क्षमता कति छ र ऊ कति कमजोर अवस्थामा छ भन्ने आकलन गर्न सहयोग गर्न सक्छ ।
‘हाम्रो उद्देश्य अनुहारको तस्बिरका आधारमा स्वास्थ्य अवस्थाको मूल्याङ्कनलाई अझ सटीक, एकरूप र ठूलो संख्याका मानिसमा प्रयोग गर्न सकिने बनाउनु हो । यसले प्रत्येक बिरामीको अवस्थाअनुसार उपचार तय गर्न सहयोग गर्नुपर्छ, चिकित्सकको निर्णयलाई विस्थापित गर्नुहुँदैन’, म्याकले भने ।
म्याक र उनका सहकर्मीले अर्को एआई उपकरणको पनि परीक्षण गरिरहेका छन् । यसले व्यक्तिको जैविक उमेर अनुमान गर्छ । अर्थात् जन्ममितिका आधारमा कति वर्षको भयो भन्ने भन्दा पनि शरीर र अनुहारको अवस्था हेर्दा कति उमेरको देखिन्छ भन्ने आकलन गर्छ ।
यस उपकरणको नाम ‘फेसएज’ हो । यसका अनुसार नाकमुनि र मुख वरिपरिको छालाले व्यक्तिको उमेर बढ्ने गति बुझ्न उपयोगी संकेत दिनसक्छ । नाकबाट ओठको कुनासम्म देखिने रेखा तथा मुखको कुनाबाट चिउँडोतर्फ जाने रेखालाई यसले विशेष रूपमा विश्लेषण गर्छ ।
त्यसैगरी निधारका चाउरी, आँखाको कुनामा देखिने चाउरी, कनपटी र गालाले पनि उमेर बढ्ने गतिबारे संकेत दिन सक्छन् ।
डा. म्याकका अनुसार दैनिक जीवनमा विभिन्न तरिकाले खिचिएका तस्बिरको परीक्षण गर्दा पनि यो उपकरणले आश्चर्यजनक रूपमा मिल्दोजुल्दो नतिजा दिएको थियो ।
तस्बिर खिच्ने तरिका, प्रकाश, अनुहारको भाव र मेकअप फरक भए पनि नतिजामा ठूलो परिवर्तन देखिएन । यसलाई विभिन्न प्रकारका प्लास्टिक सर्जरीपछि पनि परीक्षण गरिएको थियो । अधिकांश प्रक्रियापछि नतिजा लगभग स्थिर रहे पनि नाकको आकार परिवर्तन गर्ने शल्यक्रिया अर्थात् राइनोप्लास्टीपछि भने केही परिवर्तन देखिएको थियो ।
यी नतिजा उत्साहजनक देखिए पनि अनुसन्धानकर्ताहरूले उपकरणको प्रभावकारिता सही रूपमा मूल्याङ्कन गर्न अझ धेरै तस्बिर र तथ्याङ्क आवश्यक रहेको बताएका छन् ।
विशेषगरी विभिन्न जातीय तथा नश्लीय समूहका मानिसका अनुहारका तस्बिर थप संकलन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
दुवै उपकरण अहिले पूर्ण रूपमा तयार भइसकेका छैनन् । तिनको विकास र परीक्षण जारी छ ।
बेलायतस्थित युनिभर्सिटी अफ सरेका भिडियो प्रोसेसिङ तथा मेसिन लर्निङ विशेषज्ञ प्राध्यापक मिरोस्लाभ बोबरले भने यो उपकरणले समयसँगै उमेर बढ्ने प्रक्रिया वा जीवनशैलीमा आउने परिवर्तनलाई निगरानी गर्न सक्छ भन्ने दाबी गर्नु अहिले नै हतार हुने बताएका छन् ।
उनका अनुसार प्रारम्भिक चरणको यो प्रयोग आशालाग्दो भए पनि अस्पतालमा प्रयोग गर्न अझै तयार भएको छैन ।
उनले यस उपकरणबाट प्राप्त हुने नतिजालाई चिकित्सकको आफ्नै मूल्याङ्कनसँग तुलना गर्नुपर्ने र विभिन्न अस्पताल तथा फरक-फरक समूहका बिरामीमा यसको परीक्षण गर्नुपर्ने बताएका छन् ।
‘कुनै नतिजाको अनुमान गर्नु र त्यसको कारण बुझाउनु फरक कुरा हुन्’, उनले चेतावनी दिँदै भने ।
– एजेन्सीहरुको सहयोगमा






















