काठमाडौं– इजरायलमा राति १० बजेपछि पनि मतदान कार्य जारी रहने भएको छ ।
केन्द्रीय निर्वाचन समितिका कार्यवाहक महानिर्देशक डिन लिभ्नेले मतदान केन्द्रमा राति १० बजेपछि पनि मतदाताहरू लाइनमा भए मतदान जारी रहने बताएका हुन् ।
द टाइम्स अफ इजरायलका अनुसार लिभ्नेले संसद् (नेसेट) मा आयोजित जानकारी दिने क्रममा धेरै मतदान केन्द्रमा मतदाताहरूको लाइन रहेको बताए ।
‘धेरै मतदान केन्द्रमा लाइन छ । जब मतदानमा धेरै मानिस सहभागी हुन्छन्, त्यहाँ लाइन हुनु स्वाभाविक हो’, उनले भने, ‘हामी सबैले मतदान गर्न पाउने सुनिश्चित गर्छौं । राति १० बजे लाइनमा मतदाता छन् भने १० बजेसम्म लाइनमा आइसकेका सबैले मतदान नगरेसम्म मतदान केन्द्र सञ्चालन भइरहनेछ । चिन्ता गर्नुपर्ने आवश्यकता छैन ।’
समाचार माध्यमका अनुसार मतदान केन्द्र बन्द हुनेबित्तिकै सार्वजनिक गरिने एक्जिट पोल (मतदान गरेर बाहिरिएका मतदाताको सर्वेक्षणमा आधारित प्रारम्भिक अनुमान) मतदान केन्द्रमा मतदान समय लम्बिएमा ढिलो गरी सार्वजनिक हुन सक्नेछ ।






















