images
images
  • कोलम्बियामा फिरौती माग्ने क्रममा गोली हानाहान, ६ जनाको मृत्यु

    काठमाडौं– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबरजस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएअनुसार घटनाको कारण र परिस्थितिबारे अझै स्पष्ट भइसकेको छैन ।

    कोलम्बियाको मानव अधिकारसम्बन्धी संस्था कर्पोरेसन फर पिस एन्ड सोसल डेभलपमेन्ट (कर्पेड्स) का अनुसार प्रारम्भिक विवरणले घटना फिरौती माग्नेसँग सम्बन्धित हुन सक्ने देखाए पनि यसको वास्तविक उद्देश्य पुष्टि भएको छैन ।

    सामाजिक सङ्गठन र स्थानीय सञ्चारमाध्यमले सामाजिक सञ्जालमा सार्वजनिक गरेका भिडियोमा पाँच जनालाई बोकेको एउटा गाडीमा आगो लागेको देखिएको छ । गोली हानाहानका क्रममा छैटौं व्यक्तिको मृत्यु भएको पनि भिडियोमा देखाइएको छ ।

    कर्पेड्सले घटनामा मृत्यु हुनेको सङ्ख्या पुष्टि गर्न तथा आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गर्न अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएको छ ।

    हुइला विभागकै अल्जेसिरास नगरपालिकामा यस्तै घटना भएको एक दिनपछि सुजामा आक्रमण भएको हो । अल्जेसिरासमा भएको घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको थियो ।

    यस क्षेत्रमा विभिन्न आपराधिक गिरोह सक्रिय रहेको तथा विगतमा निष्क्रिय रहेको कोलम्बियाको क्रान्तिकारी सशस्त्र बल (एफएआरसी) का असन्तुष्ट समूहहरू विस्तार भइरहेको विषयमा लोकपाल कार्यालयले यसअघि नै चेतावनी दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images