काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर २७ मा हुने इजरायलको संसदीय चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई समर्थन गरेका छन् । उनको समर्थनले कडा चुनावी प्रतिस्पर्धामा नेतान्याहुको पुनर्निर्वाचित हुने प्रयासलाई बल पुग्ने अपेक्षा गरिएको छ ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा नेतान्याहुलाई बलियो, साहसी र प्रतिभाशाली नेता भन्दै उनको पुनर्निर्वाचन अभियानलाई पूर्ण समर्थन गर्ने घोषणा गरेका छन् । नेतान्याहुले पनि ट्रम्पलाई धन्यवाद दिँदै इरानको खतरा हटाउन आगामी दुई वर्षभित्र वा त्योभन्दा अगाडि नै मिलेर काम गर्ने बताए ।
इरानमाथि अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यमा आक्रमण गर्दा ट्रम्पले नेतान्याहुलाई साथ दिएका थिए । तर युद्धको विरोध र तेलको मूल्यवृद्धिबीच उनी अप्रिलमा युद्धविराम गर्न सहमत भएका थिए ।
इरानसँग कूटनीतिक सम्झौता सम्भव नभएको नेतान्याहुको भनाइ र ट्रम्पको वार्तामार्फत द्वन्द्व अन्त्य गर्ने प्रयासबीच मतभेदसमेत देखिएको थियो । इरानी विदेशमन्त्री अब्बास अराघचीले नेतान्याहुले अमेरिकालाई अर्को युद्धमा धकेल्न खोजेको आरोप लगाएका छन् ।
सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलमा हुन लागेको पहिलो चुनावमा नेतान्याहुले त्यसको जिम्मेवारी लिनुपर्ने विपक्षीहरूको माग छ । उनका प्रमुख प्रतिस्पर्धी गदी आइसेनकोटले इजरायलको नेता छान्ने अधिकार त्यहाँका नागरिकमा मात्रै रहेको बताएका छन् ।
करिब ७० लाख मतदाता सहभागी हुने चुनावमा कुनै पनि पक्षले १२० सदस्यीय संसद्मा सरकार गठनका लागि आवश्यक ६१ सिट जित्ने स्पष्ट सङ्केत नदेखिएको सर्वेक्षणहरूले जनाएका छन् ।
इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेतान्याहु सन् २०२२ डिसेम्बरमा पुनः सत्तामा फर्किएका थिए । न्यायपालिकाको अधिकार सीमित गर्ने प्रयास र भ्रष्टाचारसम्बन्धी आरोपका कारण उनी विवादमा पर्दै आएका छन् । चुनावअघि ट्रम्पले नेतान्याहुबाहेक अरूलाई निर्वाचित नगर्न मतदातालाई आग्रह गर्दै उनका प्रतिस्पर्धी विजयी भए अमेरिकाले इजरायलका लागि आवश्यक काम आफैँ गर्नुपर्ने बताएका छन् ।






















