images
images
  • युक्रेनले रुसमा हान्यो एक हजारभन्दा बढी ड्रोन, तेल भण्डारण केन्द्रहरूमा आगलागी

    काठमाडौं- अमेरिकासँग तनाव बढिरहेका बेला युक्रेनले रुसमाथि १ हजारभन्दा बढी ड्रोन प्रहार गरेको छ । यस आक्रमणमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

    सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्ज्याण्डर बेग्लोभका अनुसार आइतबार सेन्ट पिटर्सबर्ग तेल टर्मिनल, रुची तेल डिपो र शहरको दक्षिणमा रहेको कोल्पिन्स्की जिल्लाका औद्योगिक गोदामहरूमा युक्रेन हमला भएपछि आगो लागेको थियो ।

    गभर्नरले युक्रेनको उक्त हमलामा परी कम्तीमा एक जनाको ज्यान गएको र पाँच जना घाइते भएको जानकारी दिए । उनका अनुसार केही आवासीय भवन र दुईवटा घरमा क्षति पुगेको छ।

    सुरक्षाको कारण देखाउँदै यो आक्रमणका कारण रुसको सबैभन्दा व्यस्त विमानस्थलहरूमध्ये एक सेन्ट पिटर्सबर्गको मुख्य विमानस्थलमा उडानहरू प्रभावित र सीमित पारिएको बेग्लोभले जानकारी दिए।

    रुसी ई(कमर्स कम्पनी ओजोनले सेन्ट पिटर्सबर्गस्थित आफ्नो लजिस्टिक हबमा आगो लागेको जनाएको छ। त्यस्तै इन्टरनेट कम्पनी भिकेले लेनिनग्राड क्षेत्रमा रहेको आफ्नो डाटा सेन्टरमा ड्रोन आक्रमण भएको तर प्रयोगकर्ताका लागि सामान्य सेवाहरू उपलब्ध रहेको बताएको छ।

    लेनिनग्राडका गभर्नर अलेक्ज्यान्डर ड्रोज्देन्कोले १४५ वटा ड्रोनहरू खसालिएको र ड्रोन आक्रमणपछि करिब २० हजार मानिसहरू बिजुलीविहीन बनेको बताए।

    रुसी रक्षा मन्त्रालयले रातभरमा १५ वटा रुसी क्षेत्र, कब्जा गरिएको युक्रेनी प्रायद्वीप क्रिमिया र कालो सागरमाथि १ हजार १५ वटा युक्रेनी ड्रोनहरूलाई निष्क्रिय पारिएको दाबी गरेको छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी ऊर्जा पूर्वाधारमा युक्रेनले गरेको आक्रमणको आलोचना गरेपछि र मस्कोमाथि थप अमेरिकी प्रतिबन्ध नलगाउने भएपछि किभ र वासिङ्टनबीचको तनाव बढेका बेला यी आक्रमणहरू भएका हुन्।

    ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीमाथि पनि कडा टिप्पणीसमेत गरेका थिए । ट्रम्पले पुटिनसँग गरेको हालैको संवादको आलोचना गर्ने जेलेन्स्कीले रुसी ऊर्जा पूर्वाधारमा आक्रमण गरेकोमा आपत्ति जनाउँदै जेलेन्स्की यो युद्ध अन्त्य गर्न चाहँदैनन् भन्ने दाबी गरे।

    ट्रम्पले अक्टोबर ११ मा रुस र युक्रेन ऊर्जा युद्धविराममा सहमत भएको घोषणा गरेका थिए । तर कुनै विवरण दिएका थिएनन् । मस्कोले युक्रेनका ऊर्जा पूर्वाधारहरूमा निरन्तर आक्रमण गरिरहँदा युक्रेनले रुसी पूर्वाधारमा आक्रमण रोकेको तर केही दिनपछि जेलेन्स्कीले ‘द फाइनान्सियल टाइम्स’लाई अन्तर्वार्ता दिँदै आफू यो युद्धविरामबाट अलग भएको बताएका थिए।

    जेलेन्स्कीले आइतबार एक्समा लेख्दै ट्रम्पको घोषणापछिको एक हप्तामा रुसले युक्रेनको ऊर्जा, तेल र ग्यास क्षेत्रमा ७६ पटक आक्रमण गरेको बताए।

    चारवटा युक्रेनी क्षेत्रका ऊर्जा पूर्वाधारहरूमा रातभर हमला भएको र यसले गर्दा हजारौँ परिवारहरू बिजुलीविहीन बनेको भन्दै उनले रुसले ब्ल्याकआउट गराउने प्रयास गरिरहेको आरोप लगाए।

    ‘प्रतिबन्धमा छुट वा सम्झौताको जवाफमा रुसले कुनै सकारात्मक कदम चालिरहेको छैन भन्ने कुरा अमेरिकाले बुझ्नुपर्छ’, उनले भने।

    आइतबार एनबीसीको ‘मिट द प्रेस’ कार्यक्रममा बोल्दै जेलेन्स्कीले रुसविरुद्धका प्रतिबन्धहरू हटाउँदा पुटिनको युद्ध प्रयासलाई बल पुग्ने बताए।

    जेलेन्स्कीले आफूले ट्रम्पलाई विश्वास गरे पनि मस्कोको पक्ष लिनु वासिङ्टनका लागि दुखद र ऐतिहासिक गल्ती हुने चेतावनी दिए।

    रुसी आक्रमणमा दुई जनाको मृत्यु

    यसैबीच सोमबार टेलिग्राममा किभका मेयर भिटाली क्लिट्चकोले रातभर भएको रुसी हवाई आक्रमणमा युक्रेनको राजधानी किभमा एक महिलाको मृत्यु भएको र एक सबवे स्टेशन तथा २५ तले आवासीय भवनमा क्षति पुगेको बताएका छन्।

    गैरआवासीय भवन र एक स्वास्थ्य संस्थामा समेत क्षति पुर्‍याएको यस आक्रमणमा अन्य तीन जना घाइते भएको क्लिट्चकोले बताए।

    दक्षिण युक्रेनी शहर जापोरिजियामा भएका दुईवटा रुसी आक्रमणमा एक महिलाको मृत्यु भएको र एक ६ वर्षीया बालबालिकासहित कम्तीमा दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images