काठमाडौं- इजरायलको राजधानी तेल अभिभबाट भियनातर्फ जाँदै गरेको अस्ट्रियन एयरलाइन्सको एयरबस ए ३२० विमानलाई बमको धम्की आएपछि बुल्गेरियामा आपतकालीन अवतरण गराइएको छ।
अस्ट्रियन एयरलाइन्सको उडान इक्डद्द रोमानियाको सीमा नजिक पुगेका बेला चालक दलले बमको धम्की पाएका थिए ।
बुल्गेरियाको रक्षा मन्त्रालयका अनुसार वायुसेनाको मिग-२९ फाइटर जेटले उक्त विमानलाई सुरक्षा घेरामा लिई सोफिया विमानस्थलसम्म पुर्याएको थियो।
प्रारम्भिक जानकारीअनुसार विमानमा ६ जना चालक दलका सदस्य र ५१ जना यात्रु रहेका थिए । उनीहरू सबै सुरक्षित रहेको यातायात मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
घटनाको छानबिनका लागि सङ्कट व्यवस्थापन टोली गठन गरिएको छ र सम्बन्धित अधिकारीहरूले अनुसन्धान सुरु गरिसकेको बुल्गेरियाको यातायात मन्त्रालयले जनाएको छ।
उडान ट्र्याकिङ साइट फ्लाइटअवेयरका अनुसार अस्ट्रियन एयरलाइन्सको ८२ नम्बरको उडान आइतबार स्थानीय समयअनुसार साँझ ६ः४६ बजे तेल अभिभको बेन गुरियन विमानस्थलबाट उडेको थियो र करिब तीन घण्टापछि ९ः४३ बजे सोफियाको वासिल लेभस्की विमानस्थलमा अवतरण गरेको थियो।
गत महिना १७४ जना यात्रु बोकेर संयुक्त अरब इमिरेट्सबाट तेल अभिभतर्फ जाँदै गरेको फ्लाई दुबईको एउटा विमानमा सहचालकले विमान दुर्घटना गराउने प्रयासमा मुख्य चालकमाथि आक्रमण गरेको आरोप लागेको थियो।
यात्रु र अन्य चालक दलका सदस्यहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिनुअघि विमान करिब १७,००० फिट तल खसेको थियो, त्यसपछि अन्य फ्लाई दुबईका चालकहरूले विमानलाई पुनः नियन्त्रणमा लिएका थिए।
उक्त उडानको मार्ग बदलेर उत्तर-पश्चिम साउदी अरेबियाको ताबुकस्थित प्रिन्स सुल्तान बिन अब्दुलअजिज अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराउनुपरेको थियो।
यूएईका अधिकारीहरूका अनुसार सहचालक इजरायलको तेल अभिभस्थित बेन गुरियन विमानस्थलमा विमान दुर्घटना गराउने आत्मघाती मिसनमा थिए।
ओमानी नागरिक रहेका सहचालक हमम अल(हम्मामीमाथि पछि यूएईमा आतंकवादको अभियोग लगाइएको छ।
यस घटनापछि इजरायल सरकारले आफ्नो देशमा उडान भर्ने सबै चालकहरूको परिचय जाँच गर्न आदेश दिएको थियो।






















