images
images
  • रुसमाथिको प्रतिबन्ध हटाएसँगै घट्न थाल्यो तेलको मूल्य

    काठमाडौं- एसियामा सोमबार बिहानको कारोबारमा ब्रेन्ट क्रुड (काँचो तेल) को भाउ घटेर प्रतिब्यारेल १०७.९२ डलर पुगेको छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शुक्रबार एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्दै रुससँग सम्बन्धित धेरैजसो तय भइसकेका प्रतिबन्धहरू रद्द गरेपछि तेलको मूल्यमा यो गिरावट आएको हो।

    ती प्रतिबन्धहरू लागू हुन केही दिन मात्र बाँकी थियो, जसमा रुसी सामानहरूमा भन्सार महसुल बढाउने तथा रुसबाट तेल र ग्याँस खरिद गर्दा जरिवाना लगाउने निर्णयहरू थिए।

    मध्यपूर्वमा बढेको तनाव र सुरक्षा थ्रेटका कारण मध्यपूर्वका जहाजहरूको सुरक्षा तथा विश्वव्यापी ऊर्जा आपूर्ति सहज नहुने चिन्ता छाउँदा शुक्रबार भने ब्रेन्ट क्रुडको मूल्य गत मे महिनायता पहिलोपटक क्षणभरका लागि प्रतिब्यारेल ११० डलर पुगेको थियो ।

    यसैबीच रुस र अमेरिकाबीच प्रस्तावित डिजेल आपूर्ति सम्झौतामा हस्ताक्षर भएपछि इन्धन अमेरिकी बजारमा पुग्न १५ देखि २० दिन लाग्ने रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बताएका छन् । यद्यपि सम्झौतामा हस्ताक्षर हुने मिति भने अझै तय भएको छैन ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता रुससँग डिजेल आपूर्तिसम्बन्धी सम्झौता हुन लागेको घोषणा गरेका थिए । नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी उपभोक्तालाई इन्धनको मूल्यवृद्धिबाट राहत दिने प्रयासका रूपमा उक्त सम्झौतालाई हेरिएको छ ।

    रुसी सरकारी सञ्चारमाध्यम भेस्टीसँग आइतबार प्रसारित अन्तर्वार्तामा ऊर्जा क्षेत्रको जिम्मेवारी सम्हालिरहेका उपप्रधानमन्त्री नोभाकले सम्झौताका व्यावसायिक सर्त र दस्तावेजलाई अन्तिम रूप दिने विषयमा वार्ता भइरहेको बताए ।

    “हाल व्यावसायिक सर्तहरू अर्थात् सम्झौतापत्रलाई अन्तिम रूप दिने विषयमा वार्ता भइरहेको छ”, उनले भने ।

    सम्झौतामा हस्ताक्षर हुने निश्चित मिति नखुलाउँदै नोभाकले हस्ताक्षरपछि १५ देखि २० दिनभित्र डिजेल अमेरिकी बजारमा पुग्ने बताए ।

    यसअघि बुधबार क्रेमलिनका अन्तर्राष्ट्रिय आर्थिक सहयोगसम्बन्धी सल्लाहकार किरिल दिमित्रिभले केही दिनभित्रै सम्झौतापत्रमा हस्ताक्षर हुने बताएका थिए ।

    इरानविरुद्ध अमेरिका र इजरायलले सुरु गरेको सैन्य द्वन्द्वपछि इन्धनको मूल्य बढ्दा अमेरिकामा उपभोक्ताको असन्तुष्टि बढेको छ । इन्धनको बढ्दो मूल्यले आगामी मध्यावधि निर्वाचनमा ट्रम्पको रिपब्लिकन पार्टीको चुनावी नतिजामा असर पार्नसक्ने विश्लेषण गरिएको छ ।

    यद्यपि धेरै विज्ञहरूले रुससँगको प्रस्तावित डिजेल सम्झौताले अमेरिकी उपभोक्तालाई पर्ने आर्थिक भारमा खासै ठूलो परिवर्तन नल्याउने आकलन गरेका छन् ।

    अमेरिकामा दैनिक करिब ३९ लाख ब्यारेल डिजेल खपत हुने गर्छ । तर रुससँगको प्रारम्भिक सम्झौता २२ लाख २० हजार ब्यारेल डिजेल आपूर्तिसँग सम्बन्धित छ । यो परिमाण अमेरिकाको एक दिनको खपतभन्दा पनि कम हो र देशको आधा दिनको माग धान्नसमेत पर्याप्त नहुने अनुमान गरिएको छ ।

    यसले प्रस्तावित सम्झौताबाट अमेरिकी बजारमा डिजेलको आपूर्ति केही बढाउनसक्ने भए पनि समग्र इन्धन मूल्यमा उल्लेखनीय प्रभाव पार्ने सम्भावना सीमित रहेको विज्ञहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images