काठमाडौं । उच्च प्रविधि तथा वस्तु निर्यातमा आएको तीव्र सुधारका कारण चालु वर्षको तेस्रो त्रैमासिक (जुलाई-सेप्टेम्बर) मा चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुगेको छ । यो वृद्धिदर बजार विश्लेषकहरूले गरेको ४.४ प्रतिशतको पूर्वअनुमान भन्दा केही बढी हो ।
चीनको राष्ट्रिय तथ्यांक ब्यूरोका अनुसार अघिल्लो त्रैमासिक (अप्रिल-जुन) मा ४.३ प्रतिशतमा सीमित रहेको वृद्धिदरमा तेस्रो त्रैमासिकमा सुधार आएको हो । अघिल्लो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १.२ प्रतिशतले बढेको छ। यससँगै सन् २०२६ को पहिलो नौ महिनामा चीनको समग्र आर्थिक वृद्धि ४.६ प्रतिशत पुगेको छ, जुन सरकारले लिएको ४.५ देखि ५.० प्रतिशतको वार्षिक लक्ष्यकै दायराभित्र पर्दछ ।
चिनियाँ अर्थतन्त्रलाई गति दिन वैदेशिक व्यापार र उच्च प्रविधि क्षेत्रको ठूलो योगदान रहेको छ। विशेष गरी आर्टिफिसियल इन्टेलिजन्स सम्बन्धी प्रविधि सामग्री, सेमिकन्डक्टर, र विद्युतीय तथा हाइब्रिड गाडीहरूको निर्यात उच्च दरमा बढेको छ । चालु वर्षको पहिलो नौ महिनामा चीनको व्यापार बचत ९३८ अर्ब अमेरिकी डलर पुगेको छ भने यस वर्ष गत वर्षको १.२ खर्ब डलरको कीर्तिमानलाई समेत पार गर्ने प्रक्षेपण गरिएको छ ।
यस्तै, सेप्टेम्बर महिनामा औद्योगिक उत्पादन ५.५ प्रतिशतले बढेको छ, जुन अघिल्लो महिना (५.२ प्रतिशत) को तुलनामा तीव्र हो । सुस्त रहेको खुद्रा बिक्रीमा पनि सेप्टेम्बरमा १.१ प्रतिशतको वृद्धि देखिएको छ, जुन पछिल्लो ६ महिनाकै उच्च हो ।
निर्यात क्षेत्रमा उत्साह देखिए पनि चीनको आन्तरिक अर्थतन्त्रमा भने गम्भीर असन्तुलन कायम छ । लामो समयदेखि जारी घरजग्गाक्षेत्रको मन्दी र उपभोक्ताको कमजोर खर्च क्षमताका कारण आन्तरिक माग सोचे अनुसार बढ्न सकेको छैन ।
तथ्यांक अनुसार पहिलो नौ महिनामा घरजग्गा क्षेत्रको लगानी २०.६ प्रतिशतले घटेको छ । त्यस्तै, स्थिर सम्पत्ति लगानी ७.२ प्रतिशतले र पूर्वाधार लगानी ४.२ प्रतिशतले ओरालो लागेको छ ।
यसै गरी, इरान युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा बढेको इन्धनको मूल्यले कच्चा तेलको ठूलो आयातकर्ता चीनको अर्थतन्त्रमा अतिरिक्त दबाब सिर्जना गरेको छ । यसै स्थितिबीच अन्तर्राष्ट्रिय मुद्रा कोषले चीनको यस वर्षको वार्षिक आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।
चीनको तीव्र निर्यात वृद्धिका कारण प्रमुख व्यापारिक साझेदारहरूसँगको व्यापार घाटा फराकिलो बन्दा अन्तर्राष्ट्रिय तनाव समेत बढेको छ । युरोपेली संघसँग दैनिक १.१ अर्ब डलरभन्दा बढी व्यापार घाटा रहेकाले युरोपले चिनियाँ हाइब्रिड गाडीको आयात सीमित गर्ने सहमति गरेको छ ।
आन्तरिक अर्थतन्त्रलाई थप शिथिल हुन नदिन बेइजिङले ५५० अर्ब युआनको सरकारी ऋण कोटा र ८०० अर्ब युआनको वित्तीय पूर्वाधार कोष प्रयोगमा ल्याएको छ । साथै, साना व्यवसायी र घरखरिदकर्ताका लागि ब्याज अनुदान तथा सहुलियत प्रदान गरिए पनि केन्द्रीय बैंकले मुख्य नीतिगत ब्याजदरलाई भने स्थिर नै राखेको छ ।
एजेन्सीको सहयोगमा ।





















