images
images
  • रुस-युक्रेन युद्ध अन्त्य गर्न पुटिनले ट्रम्प र सीसामु राखे त्रिपक्षीय वार्ताको प्रस्ताव

    काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । प्रस्तावित वार्तामा युक्रेन र अमेरिकाका युरोपेली सहयोगीको प्रतिनिधित्व नहुने सम्भावनाले चासो बढाएको छ ।

    द वाल स्ट्रिट जर्नलका अनुसार पुटिनले अक्टोबर ९ मा ट्रम्पसँगको टेलिफोन वार्ताका क्रममा प्रस्ताव अघि सारेका थिए । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बैठकबारे छलफल भइरहेको पुष्टि गर्दै मिति र कार्यसूचीमा भने सहमति भइनसकेको बताएका छन् । अमेरिकी अधिकारीका अनुसार ट्रम्पले पनि सम्मेलनमा औपचारिक सहमति जनाइसकेका छैनन् ।

    क्रेमलिनले नोभेम्बर १८ र १९ मा चीनको सेन्जेनमा हुने एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसरमा वार्ता आयोजना गर्न सुझाव दिएको स्रोतहरूले बताएका छन् । रुसी कूटनीतिज्ञहरूले चिनियाँ अधिकारीसमक्ष प्रस्ताव राखेको र ट्रम्प सहभागी भए चीनलाई आपत्ति नहुने सङ्केत पाएको जनाइएको छ ।

    यसैबीच ट्रम्पले आइतबार रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा ‘ठूलो प्रगति’ भइरहेको दाबी गरेका छन् । उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दुई वर्षअघि राम्रो सम्झौता गर्न असफल भएको आरोप लगाउँदै रुसलाई वार्ताको टेबलबाट टाढा राख्न नहुने बताउ । ट्रुथ सोसलमा उनले आफूले चाहेको समयमा वार्तासम्बन्धी दस्तावेजमा हस्ताक्षर गर्न सक्ने उल्लेख गरेका छन् ।

    यस महिनाको सुरुमा पुटिन र ट्रम्पबीच करिब डेढ घण्टा लामो टेलिफोन वार्ता भएको थियो । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभका अनुसार कुराकानीमा आर्थिक सहकार्य, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो । दुवै नेताले प्रत्यक्ष भेटघाटको सम्भावनाबारे पनि चर्चा गरेका थिए ।

    ट्रम्पले उक्त वार्तापछि रुसले अमेरिकी तथा विश्व बजारमा तत्काल तीन लाख टनभन्दा बढी डिजेल इन्धन आपूर्ति गर्ने र आगामी महिनाहरूमा थप ढुवानी हुने घोषणा गरेका थिए । उशाकोभले एपेक सम्मेलनमा दुवै नेता सहभागी भए भेटघाटको अवसर मिल्न सक्ने बताएका छन् ।

    यसअघि चिनियाँ राष्ट्रपति सीले सेप्टेम्बर २३ देखि २५ सम्म अमेरिकाको राजकीय भ्रमण गरेका थिए । उक्त भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पसँग आपसी सम्मानका आधारमा स्पष्ट र गहिरो विचार आदानप्रदान भएको चिनियाँ विदेशमन्त्री वाङ यीले बताएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images