काठमाडौं- पेरिसको प्लास दे ला रिपब्लिक (गणतन्त्र चोक) मा फ्रान्सेली गणतन्त्रको प्रतीक मानिने म्यारियनको विशाल सालिक उभिएको छ, जसलाई पहेंलो ज्याकेट पहिराइएको छ।
उक्त स्मारकको तल्लो भागमा स्वतन्त्रता, समानता र भ्रातृत्वको प्रतिनिधित्व गर्ने तीनवटा आकृतिहरूका अनुहारमा कालो आँसुका दागहरू देखिन्छन्। तिनीहरूमाथि आकाशमा अश्रुग्याँसका क्यानिस्टरहरू उडिरहेका छन्, जसले पूरै चोकलाई धुवाँले ढाकेको छ।
एक महिनाभन्दा बढी समयदेखि फ्रान्समा विद्यार्थीहरु आन्दोलित छन् । उक्त आन्दोलनको पछिल्लो कडीका रूपमा शनिबार फ्रान्सेली राजधानीको केन्द्रमा भेला भएका हजारौं प्रदर्शनकारीहरू, जसमा धेरैजसो युवाहरू थिए, को दृश्य यस्तै थियो।
यो प्रदर्शनको नेतृत्व मुख्यतया शिक्षा सुधारको माग गर्ने विद्यार्थीहरूले गरेका थिए । तर चाँडै नै यो फराकिलो बन्दै गएर कमजोर बन्दै गएका सार्वजनिक सेवा, बढ्दो जीवनयापन खर्च र भविष्यप्रतिको अन्योललाई लिएर चुलिएको आक्रोश पोख्ने माध्यम बन्यो।

‘हामीमाथि जे भइरहेको छ त्यो सही छैन, त्यसैले सरकारले हाम्रो कुरा अन्तिम पटक स्पष्ट रूपमा सुनोस् भनेर सबैजना एकै ठाउँमा आएका हुन्’, एक हाई स्कूलकी छात्राले भनिन्, ‘हामी यहाँ आएका छौँ किनभने हामी आफ्ना अधिकारहरू फिर्ता लिन चाहन्छौं ।’
केही व्यक्तिहरूले ऐतिहासिक भनेर प्रशंसा गरेको यो सामाजिक आन्दोलनले वर्ग र कार्यक्षेत्रभन्दा माथि उठेको समर्थन प्राप्त गरेको छ। यसले २०१८ मा फ्रान्सलाई हल्लाएको जीवनयापनको लागतविरुद्धको जनस्तरको आन्दोलन पहेंलो ज्याकेटधारी (येलो भेस्ट) का बाँकी समूहहरूलाई समेत एकजुट गराएको छ ।
शनिबारको प्रदर्शनमा नर्स, मानव अधिकारवादी, वकिल, दमकलकर्मी, अभिभावक, शिक्षक र येलो भेस्टका मानिसहरूको उपस्थिति थियो । यसले विद्यार्थीहरूले कसरी फ्रान्सेली समाजमा गहिरोसँग गडेको असन्तोषलाई आन्दोलनको रूप दिएका छन् भन्ने कुरालाई पुष्टि गर्थ्यो ।
फ्रान्सको एउटा प्रमुख ट्रेड युनियन ऋन्त् ले पनि यो विरोध प्रदर्शनलाई समर्थन गर्दै उच्च तलब र पेन्सन, कम मूल्य र मानिसहरूका आवश्यकताहरू पूरा गर्ने सार्वजनिक सेवाहरूको संरक्षणको माग गरेको छ ।
अधिकारीहरूका अनुसार शनिबार देशभर ५ लाख ५० हजार मानिसहरूले प्रदर्शन गरेका थिए, जसमा राजधानी पेरिसमा मात्रै १ लाख १० हजार मानिसहरू सहभागी थिए।
‘युवाहरू आफ्नो भविष्य र खस्कँदो विद्यालयहरूलाई लिएर चिन्तित छन्, ‘येलो भेस्ट’ हरू जीवनयापनको बढ्दो खर्चबाट पीडित छन्, जुन तीव्र रूपमा बढिरहेको छ र भूराजनीतिक स्थितिलाई लिएर अस्तित्वगत चिन्ताहरू छन्’, फ्रान्सेली मानवअधिकार लिगका सदस्य जाँ पियरेले भने, ‘त्यसैले यहाँ यति धेरै मानिसहरू सडकमा छन्स यो मानिसहरूले आज महसुस गरिरहेका विभिन्न चिन्ताहरूको परिणाम हो ।’
विद्यार्थीहरुको प्रदर्शनमा अभिभावकहरू पनि उपस्थित थिए । तीन सन्तानकी आमा अमलीले अश्रुग्याँसको पिरो गन्धका कारण आँसु पुछ्दै आफ्ना छोराछोरीलाई समर्थन गर्न आउनु महत्त्वपूर्ण भएको बताइन् ।
‘हाम्रा बालबालिकाको भविष्यको कसैले हेरचाह गरिरहेको छ भन्ने निश्चित गर्न हामी दबाब जारी राख्नेछौँ’, आफ्नी किशोरावस्थाकी छोरीको छेउमा उभिएर उनले भनिन्।

चोकको हरेक कुनामा पूर्ण सुरक्षा पोशाकमा तैनाथ दङ्गा नियन्त्रक प्रहरीको बाक्लो उपस्थिति थियो।
समाचारअनुसार मानिसहरूको उपस्थिति निकै पातलो भए पनि मध्याह्न १२ बजेतिर आन्दोलनको शुरुआती घण्टामै अश्रुग्याँस प्रहार गरिएको थियो । यद्यपि दिउँसो २ बजेपछि चौक भरिभराउ भयो र स्थिति तनावपूर्ण बन्यो।
प्रहरी र केही प्रदर्शनकारीहरूबीच झडप भयो, जसक्रममा प्रदर्शनकारीहरूले प्रहरीमाथि पटाका (फायरवर्क मोर्टार) प्रहार गरे भने एउटा कार र पत्रपत्रिका बेच्ने पसलमा आगो लगाइदिए, जसका कारण आकाशमा कालो धुवाँको बाक्लो बादल फैलियो ।
अधिकांश प्रदर्शनकारीहरू शान्तिपूर्ण रूपमा उत्तर(पश्चिमी पेरिसतर्फ अघि बढेको मार्चमा सहभागी भए।
पेरिसस्थित सेन्टर फर पोलिटिकल रिसर्चका अनुसन्धानकर्ता ब्रुनो कौट्रेसका अनुसार शनिबारका घटनाहरू विभिन्न आन्दोलनहरूको परिणाम हुन्, जुन उच्च करका साथै उल्लेख्य राष्ट्रिय ऋण र घाटाका कारण उब्जिएको निराशाबाट उत्पन्न भएका हुन्। यसले सरकारलाई जनताका मागहरू पूरा गर्नबाट रोकिरहेको छ।
‘फ्रान्सेलीहरूले आफूलाई सोधिरहेका छन्, एक देशको रूपमा हामी कहाँ जाँदैछौँ ? यो बजेट सङ्कटबाट हामी कसरी बाहिर निस्कनेछौँ ?’, कौट्रेसले भने।
यो विरोध प्रदर्शन सेप्टेम्बरको मध्यतिर पेरिसको उपनगर क्रीटेलको एउटा हाई स्कूलबाट शुरू भएको थियो, जहाँ विद्यार्थीहरू जीर्ण भवन, कोचिएका कक्षाकोठा, शिक्षकको कमी र आफूले गहिरो असमानता देखेको शिक्षा प्रणालीको विरोधमा सडकमा उत्रिएका थिए।
शनिबारको यो व्यापक आन्दोलन सामाजिक सञ्जालमा ‘येलो भेस्ट’ आन्दोलनलाई ब्युँझाउने आह्वानपछि भएको हो। ‘येलो भेस्ट’ आन्दोलन २०१८ मा डिजेलको मूल्यवृद्धिविरुद्ध शुरू भएको थियो, तर चाँडै नै राष्ट्रपति इम्यानुएल म्याक्रोनको सम्भ्रान्त वर्गप्रतिको पक्षपातको रूपमा हेरिएको नीतिका विरुद्धको आन्दोलनमा परिणत भएको थियो।
यो आन्दोलन म्याक्रोनको राष्ट्रपतिको अन्तिम कार्यकाल र आगामी वर्ष हुने महत्त्वपूर्ण निर्वाचनअघिको अत्यधिक ध्रुवीकृत राजनीतिक परिदृश्यका बीच भइरहेको छ, जसले युरोपको दोस्रो ठूलो अर्थतन्त्रलाई अति-दक्षिणपन्थी पार्टी ‘नेसनल र्याली’को नेतृत्वमा पुर्याउने बाटो खोल्न सक्छ।
म्याक्रोनले प्रदर्शनको अघिल्लो दिन शुक्रबार शान्तिको अपिल गरेका थिए।
‘प्रदर्शन गर्ने र आफ्ना विचार व्यक्त गर्ने संवैधानिक अधिकार छ। तर यो अधिकारसँगै सम्मानको आवश्यकता पनि आउँछ। मानिसहरूको सम्मान, सम्पत्तिको सम्मान, र त्यसैले गालीगलौज वा विनाश नगर्ने प्रतिबद्धता’, ब्रसेल्समा बोल्दै उनले भनेका थिए।
तर सरकारका लागि यसबाट बाहिर निस्कने कुनै सजिलो बाटो छैन। फ्रान्सले आफ्नो चुलिँदो सार्वजनिक ऋण घटाउने प्रयास गरिरहेको छ । तर अहिलेसम्म लगानीकर्ताहरूलाई विश्वस्त पार्न सकेको छैन, जसका कारण सरकारी ऋणको लागत २० वर्षभन्दा बढी समयको उच्च बिन्दुमा पुगेको छ ।
-विभिन्न एजेन्सीहरुको सहयोगमा






















