काठमाडौं– इजरायली बस्तीका बासिन्दाहरूले कब्जामा रहेको वेस्ट ब्याङ्कमा युरोपेली कूटनीतिज्ञहरूको टोलीमाथि आक्रमण गर्नुका साथै फ्रान्सेली मेयर बर्नार्ड बाउडोक्सलाई कुटपिट गरेका छन् ।
अमेरिकी फोटो पत्रकारमाथि आक्रमण भएको भोलिपल्टै भएका घटनाप्रति अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिन्ता व्यक्त गरेका छ न्।
उत्तरी फ्रान्सको औल्नोए–आयमेरिसका ७८ वर्षीय मेयर बाउडोक्स प्यालेस्टिनी किसानहरूसँग जैतुन टिप्न सहभागी भएका बेला मुख छोपेका व्यक्तिहरूले उनलाई लात्ती र फलामको बारले प्रहार गरेका थिए ।
फ्रान्सेली विदेशमन्त्री जिन–नोएल बारोटले दोषीलाई पक्राउ गर्न माग गरेका छन् ।
यसअघि ‘द वासिङ्टन पोस्ट’ की अमेरिकी फोटो पत्रकार हेइडी लेभिन बस्तीका बासिन्दाहरूको आक्रमणमा परी घाइते हुनुभएको थियो ।
उहाँको मेरुदण्डको हड्डी भाँचिएको छ ।
अमेरिकी राजदूत माइक हुकाबीले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
इजरायली विदेश मन्त्रालयले आक्रमणको निन्दा गर्दै अनुसन्धान गर्ने जनाएको छ ।
तर प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बस्तीवासीविरुद्ध बदनाम गर्ने अभियान चलाइएको आरोप लगाएका छन् ।
उनका प्रमुख प्रतिस्पर्धी गदी आइसेनकोटले भने हिंसाले इजरायलको अन्तर्राष्ट्रिय वैधानिकता कमजोर बनाइरहेको बताए ।
जैतुन टिप्ने वार्षिक मौसममा वेस्ट ब्याङ्कमा हिंसा बढ्ने गरेको छ ।
प्यालेस्टिनी किसानले बस्तीवासीबाट आक्रमण र जग्गा कब्जाको सामना गर्नुपरेको आरोप लाग्दै आएको छ ।
सन् १९६७ मा इजरायलले कब्जा गरेको वेस्ट ब्याङ्कमा करिब ३० लाख प्यालेस्टिनी र पाँच लाख इजरायली बस्तीवासी बसोबास गर्छन् ।
अन्तर्राष्ट्रिय कानूनअनुसार इजरायली बस्ती अवैध मानिन्छन् ।






















