images
images
  • इजरायलमा ईयू कूटनीतिज्ञमाथि ड्रोन आक्रमण

    काठमाडौं इजरायली अतिक्रमणकारीहरूले कब्जा गरिएको वेस्ट बैंकको प्यालेस्टिनी गाउँ तैबेह नजिकै फ्रान्सेली मेयरसहितका युरोपेली कूटनीतिज्ञहरूमाथि आक्रमण गरेका छन् ।

    शनिबार यो प्रतिनिधिमण्डल प्यालेस्टिनी जैतुन सङ्कलनकर्ताहरूलाई भेट्न गएको बेला इजरायली आक्रमणकारीहरूले उनीहरूलाई घेरेका थिए । यो आक्रमण रामल्लाहको उत्तरमा एक अमेरिकी पत्रकारमाथि कब्जाकर्ताहरूले गरेको कुटपिटको भोलिपल्ट भएको हो ।

    शनिबारको घटनामा कब्जाकर्ताहरूले बेल्जियमका महावाणिज्यदूत, फ्रान्सेली र पोलिश कूटनीतिज्ञहरू तथा क्याथोलिक प्रतिनिधिहरूलाई निशाना बनाएको बेल्जियमका परराष्ट्रमन्त्री म्याक्सिम प्रेभोटले बताएका छन् ।

    ‘एक फ्रान्सेली मेयरमाथि हातपात गरियो र बेल्जियमको गाडीमा क्षति पुर्याइयो’, प्रेभोटले भने । उनले यस आक्रमणलाई इजरायलको अवैध बस्ती विस्तार नीति सँग जोड्दै युरोपेली सङ्घबाट थप प्रतिबन्ध लगाउन पहल गर्ने प्रतिबद्धता जनाए।

    आक्रमणको शिकार भएका फ्रान्सेली मेयर बर्नार्ड बाउडौक्सले एएफपीलाई प्रतिक्रिया दिँदै यो आक्रमणले इजरायल सरकारको तर्फबाट अतिक्रमणकारीहरूको हिंसाप्रति मौन सहमति वा सहनशीलता रहेको सङ्केत गर्ने बताए।

    घटनास्थलमा रहेका अमित ओर्फाली नामका एक कार्यकर्ताले सेयर गरेको भिडियोमा बाउडौक्स धुलोले भरिएको भुइँमा बसेर एउटा गाडीमा अडेस लागेको देखिन्छ। अन्य भिडियो क्लिपहरूमा नकाब लगाएका युवाहरूले चालकतर्फको ढोकाको झ्यालमा लगातार ढक्ढक्याउँदै परिचयपत्र मागेको र हातमा लाठी बोकेका अन्य नकाबधारीहरू टाढाबाट अघि बढिरहेको देखिन्छ। ओर्फालीका अनुसार ती नकावधारीहरूले हामीलाई ज्यान मार्ने धम्की दिएका थिए ।

    फ्रान्सका परराष्ट्रमन्त्री जीन नोएल बारोटले इजरायललाई बाउडौक्समाथि हिंस्रक आक्रमण गर्ने अतिवादी अतिक्रमणकारीहरू लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन्।

    ‘उनीहरूले यो आपराधिक हिंसा तुरुन्त रोक्नुपर्छ र अन्तर्राष्ट्रिय कानुनबमोजिम सर्वसाधारण जनताको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ’, उनले ‘एक्स’ मा लेखेका छन्।

    अल जजिराकी संवाददाता पुरक नुर ओदेहका अनुसार अतिक्रमणकारीहरूले कूटनीतिज्ञहरूका गाडीहरूलाई घेरेर ढुङ्गामुढा गर्नुका साथै झ्यालका सिसाहरू फुटाएको बताएका छन् ।

    यो आक्रमणपछि इजरायली प्रहरीले अनुसन्धान सुरु गरेको छ । बेल्जियमले भने यसको कडा निन्दा गरेको छ । कब्जा गरिएका क्षेत्रहरूमा भइरहेका यस्ता हिंसात्मक घटनाहरूले प्यालेस्टिनीहरूको जैतुन सङ्कलन कार्य प्रभावित बनेको छ ।

    यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले युरोपेलीहरूमाथि भएको आक्रमणको प्रतिवेदनमाथि प्रश्न उठाउँदै ‘एक्स’ मा यो घटना ‘आरोप मात्र’ भएको र यसका लागि ‘ठोस प्रमाण’ आवश्यक पर्ने उल्लेख गरेको छ । जबकि घटनाको सार्वजनिक भिडियो फुटेज उपलब्ध रहेको कुरा उसले स्वीकार गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images