images
images
  • भारतको कोलकातामा दुर्गापूजा पण्डालमा भागदौड हुँदा १९ जनाको मृत्यु

    काठमाडौं- कोलकाताको चोरबागान सार्वजनिक दुर्गापूजा पण्डालमा भागदौड हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ।

    राज्यका मुख्यमन्त्री सुवेन्दु अधिकारीले बताएअनुसार भागदौड मचिँदा घटनास्थलमा सुरुमा १७ जनाको मृत्यु भएको थियो । पछि थप दुईजनाको निधन भएको उनले बताए ।

    यस दुर्घटनामा २४ जना घाइते खतरामुक्त छन् र एकजनाको अवस्था अलि गम्भीर छ ।

    मुख्यमन्त्री अधिकारीले घटनापछि गृहमन्त्री अमित शाह आउन कार्यक्रम रहेको र उक्त कार्यक्रम पनि रद्द गरिएको बताए ।

    उनले ज्यान गुमाउने प्रत्येक व्यक्तिको परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्तिको घोषणा गरेका छन् । त्यस्तै प्रत्येक परिवारबाट एक सदस्यलाई रोजगारी दिइने बताइएको छ । प्रत्येक घाइतेको उपचारको खर्च सरकारले व्यहोर्नेछ र उनीहरूलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिइनेछ ।

    दुर्घटनामा ज्यान गुमाउनेहरूमा धेरैजसो महिला र बालबालिका छन् । मुख्यमन्त्री अधिकारीले यस घटनाको छानबिन कोलकाता उच्च अदालतका न्यायधीशबाट गराइने जानकारी दिएका छन् ।

    india kolkata 2

    दुर्घटना शनिबार साँझ करिब ७ः३० बजे भएको कोलकाता पूहरीले जनाएको छ । प्रहरीको एएफएस टिमले सीसीटीभी फुटेजको जाँच गरिरहेको छ ।

    पश्चिम बंगालमा ५८ हजारभन्दा बढी दुर्गा पूजा आयोजना भइरहेको बताइएको छ । चोरबागानमा आयोजना हुने पूजा ९० वर्षभन्दा पुरानो मानिन्छ । तर यहाँ पहिले यस्तो घटना कहिल्यै देखिएको थिएन ।

    स्थानीय व्यक्तिले भने, ‘पहिले यहाँ कहिल्यै यस्तो भएको थिएन । ९१ वर्ष भयो । अचानक पानी पर्‍यो, जसले गर्दा चिप्लिएर केही मानिसहरू लडे ।’

    घटनाका एक पीडितले बताएअनुसार त्यहाँ ठाउँ निकै साँघुरो थियो । धेरै मानिसहरू लाइनमा उभिएका थिए । त्यहाँ पूर्ण रूपमा अँध्यारो थियो र एक वटा पनि बत्ती बालिएको थिएन ।

    उनले थपे, ‘मेरी नातिनी र अन्य बच्चाहरू मसँगै थिए। दुईजना बच्चा अस्पतालमा भर्ना छन्। म पनि लडेको थिएँ। त्यहाँ दुर्घटना भएको आधा घण्टासम्म न त कोही पुलिस थियो न त कुनै स्वयंसेवक नै उपस्थित थिए ।’

    एक व्यक्तिले समाचार एजेन्सी पीटीआईलाई बताएअनुसार पण्डालबाट बाहिर निस्कने क्रममा भागदौड मचियो । त्यहाँ कुनै स्वयंसेवक उपस्थित थिएनन् । कुनै व्यवस्था गरिएको थिएन ।

    समाचारअनुसार जब अति तीव्र वर्षा भइरहेको थियो, ठ्याक्कै त्यही बेला यो घटना भयो र धेरै मानिसहरूलाई मोटरसाइकलमा राखेर बाहिर निकालिँदै थियो, ती मानिसहरू बेहोश भइसकेका थिए ।

    प्रधानमन्त्री मोदी र राहुल गान्धीले व्यक्त गरे दुःख

    india kolkata 1

    कोलकाताको दुर्गा पूजा पण्डालमा भएको दुर्घटनाप्रति प्रधानमन्त्री मोदीले दुःख व्यक्त गरेका छन् र ज्यान गुमाउनेहरूप्रति समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री मोदीले ज्यान गुमाउनेहरूको परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरूका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन् ।

    शनिबार केन्द्रीय गृहमन्त्री अमित शाह पनि एक कार्यक्रमको सिलसिलामा कोलकाता पुगेका थिए । उनी मुख्यमन्त्री सुवेन्दु अधिकारीसँग वर्षाको बीचमा मानिसहरूको अभिवादन गर्दै देखिएका थिए । यद्यपि दुर्घटनाको जानकारी पाएपछि उनको कार्यक्रम रद्द गरियो ।

    अमित शाहले ‘एक्स’ मा एक पोस्ट लेखे, ‘भर्खरै कोलकाताको चोरबागान सार्वजनिक दुर्गा पूजा पण्डालमा भएको भागदौडको अत्यन्त दुःखद समाचार प्राप्त भयो। यस सम्बन्धमा मुख्यमन्त्री श्री सुवेन्दु अधिकारी जीसँग कुराकानी भयो। पश्चिम बंगालको भोलिको मेरा सबै कार्यक्रम स्थगित गरेर अस्पताल गई घाइतेहरूसँग भेट्नेछु। माँ दुर्गासँग सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

    यसैबीच कांग्रेस सांसद राहुल गान्धीले ‘एक्स’ मा लेखे, कोलकाताको चोरबागान पूजा पण्डालमा भएको भागदौडको खबर अति दुःखद छ। यस दुर्घटनामा धेरै मानिसहरूको ज्यान गएको र ठूलो सङ्ख्यामा मानिसहरू घाइते भएको सूचना प्राप्त भएको छ।

    -बीबीसी हिन्दीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images