एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीचको सम्बन्धमा आएको खटासका कारण युक्रेनलाई प्राप्त हुँदै आएको महत्त्वपूर्ण अमेरिकी सहयोग जोखिममा परेको छ । गुप्तचर सूचना आदानप्रदान रोक्ने अमेरिकी चेतावनी, रुसी निर्यातमा महसुल छुट र रुसी डिजेल खरिदको सम्झौताले किभ र उसको सबैभन्दा प्रमुख सहयोगी वासिङ्टनबीचको सम्बन्धमा ठूलो क्षति पुर्याएको छ ।
अमेरिकामा इन्धनको मूल्य वृद्धि भएपछि असन्तुष्ट बनेका ट्रम्पले यसको दोष रुसी रिफाइनरीहरूमा युक्रेनले गरेको आक्रमणलाई दिएका छन् । आउँदो नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले अमेरिकी कंग्रेसमा बहुमत गुमाउन सक्ने विश्लेषण भइरहेका बेला इन्धनको मूल्य ट्रम्पका लागि राजनीतिक टाउकोदुखाइ बनेको छ ।
विशेषज्ञहरूका अनुसार इन्धनको मूल्य वृद्धि मुख्यतया अमेरिका-इजरायल र इरानबीचको युद्ध तथा होर्मुज जलडमरूमध्य बन्द भएका कारण भएको हो। यद्यपि, ट्रम्पले मूल्य नियन्त्रण गर्न रुसतर्फ कदम बढाउँदै अक्टोबर ९ मा रुसी डिजेल आयात गर्ने र अस्थायी रूपमा प्रतिबन्ध हटाउने सम्झौता गरेका थिए ।
यसै क्रममा शुक्रबार ह्वाइट हाउसले जारी गरेको कार्यकारी आदेशमार्फत ट्रम्पले ‘ग्राहम ऐन’ अन्तर्गत लागू हुन लागेका रुससम्बन्धी प्रमुख प्रतिबन्ध र महसुलहरूलाई फुकुवा गरिदिएका छन् । यस निर्णयले रुसलाई युक्रेनमाथि थप आक्रमण जारी राख्न प्रोत्साहन मिल्ने भन्दै जेलेन्स्कीले कडा आपत्ति जनाएका छन् ।
अमेरिकी गुप्तचर सूचनाको अभावमा युक्रेनलाई रुसी मिसाइल तथा ड्रोन आक्रमणहरू पहिचान गर्न र तिनको सामना गर्न कठिन हुने देखिएको छ । युक्रेनी कमाण्डरहरूलाई गुप्तचर सहयोग कटौती हुन सक्ने चेतावनी दिइएको जेलेन्स्कीले बताएका छन् ।
यसैबीच, ह्वाइट हाउसको आदेशमा युक्रेनमा प्रयोग भइरहेको स्पेसएक्सको ‘स्टारसिल्ड’ (स्टारलिंकको सैन्य संस्करण) भूउपग्रह सेवामा अवरोध पुर्याइएको खबर सार्वजनिक भएको छ । उक्त सेवा आंशिक रूपमा पुन: सञ्चालन भए पनि यसले अमेरिकी प्रविधिमा युक्रेनको निर्भरता कति जोखिमपूर्ण छ भन्ने उजागर गरेको छ ।
तनावका बाबजुद युक्रेनले ट्रम्पका दूतहरू स्टिभ विट्कफ र जारेड कुश्नरसँग संवाद जारी राख्न चाहेको युक्रेनी अधिकारीहरूले बताएका छन् । वासिङ्टनस्थित युक्रेनी दूतावासका कार्यवाहक राजदूत डेनिस सिएनिकले युक्रेन युद्ध अन्त्यका लागि ट्रम्प टोलीको प्रयासप्रति आभार व्यक्त गर्दै रुससँग वार्ता गर्न तयार रहेको जनाएका छन् ।
अर्कोतर्फ, ट्रम्पले आफू जेलेन्स्की र पुटिन दुवैसँग संवाद जारी राख्ने र युद्ध अन्त्य गर्न चाहेको बताएका छन् । पूर्व अमेरिकी कूटनीतिज्ञ ड्यानियल फ्राइडका अनुसार वासिङ्टनको यो कदमले युक्रेनमा वास्तविक पीडा थपेको छ र पुटिनलाई युद्ध लम्ब्याउन प्रोत्साहन दिएको छ ।






















