काठमाडौं– दक्षिण एसियाको वामपन्थी राजनीति एउटा सङ्कटमा रहेको साँचो हो । कुनै समय वामपन्थीहरूको प्रभाव सडकदेखि सदनसम्म उत्तिकै जोडदार रहेको दक्षिण एसियामा अहिले यो अवस्था छैन । भारतको पश्चिम बङ्गालमा समेत वामपन्थी पकड गुमेको छ ।
यसै समयमा भारतमा चालू कक्रोच जनता पार्टी (सीजेपी) को आन्दोलनमा एउटा जेन-जेड पुस्ताकी नाट्य पृष्ठभूमिकी विद्यार्थी नेतृले धेरैको ध्यान खिचेकी छन् । प्रदर्शनमा सयौं व्यक्ति गिरफ्तार भएका छन् । अहिलेको चर्चा भने ती नै विद्यार्थी नेतृ नेहा बोराको छ ।
यसअघि सन् २०१९ र २०२० मा नागरिक ऐनको विरुद्धमा भएको प्रदर्शनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी बोराले अहिलेको यो आन्दोलनमा धेरैको ध्यान खिचेकी छन् ।

गएको शनिबाार दिल्लीमा प्रदर्शनको क्रममा उनी गिरफ्तार भएकी थिइन् । त्यसपछि आन्दोलनमा उनको उपस्थितिको विषयमा व्यापक चर्चा भइरहेको छ ।
प्रदर्शनपछि सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै उनले लेखेकी थिइन्, ‘म गिरफ्तार भएको हुँ, प्रदर्शन होइन ।’
उनको यो पोस्ट नै भाइरल भएको थियो ।
अहिले भारतीय जनता पार्टी र सरकारले मतदाता नामावलीमा कुनै फेरबदल नगरिएको आरोप लगाएका छन् । तथापि विपक्षीहरू यो मान्न तयार छैनन् । उनीहरू प्रमुख निर्वाचन आयुक्तको राजीनामाबाहेकको विषयमा टसमस हुने देखिएका छैनन् ।

बोराले कक्रोचको यो आन्दोलनमा आफ्नो उपस्थिति मात्र देखाएकी हुन् । उनका मूल मुद्दा फरक छन् । वामपन्थी विद्यार्थी सङ्गठनको नेतृत्वमा रहेकी उनले संवैधानिक अधिकार, शिक्षामा सुधार र आर्थिक समानताको विषयको उठान गरेकी छन् ।
बोराको बाल्यकाल उत्तराखण्डको पहाडी भूभागमा बितेको हो । भारतीय सेनाकी छोरी उनको जीवन सहज नै हुर्किएको थियो । जवाहरलाल नेहरु विश्वविद्यालयअन्तर्गत स्कुल अफ आर्ट एन्ड एस्थेटिक्समा विद्यावारिधि सुरु गर्नुअघि उनले दिल्ली विश्वविद्यालयमा अध्ययन गरेकी हुन् ।
कला क्षेत्रमा लागेकी उनले नाटकको तयारी गर्ने क्रममा नै आफूभन्दा विपन्नको बारेमा जानकारी हासिल गरिन् । विभिन्न व्यक्तिका समस्यालाई महसुस गर्न सफल भइन् । यो नै उनको जीवनको टर्निङ प्वाइन्ट बन्यो ।
गत जुलाई महिनामा प्रश्नपत्र लिक भएपछि भएको आन्दोलनमा उनले धेरैको ध्यान खिचेकी थिइन् । त्यस आन्दोलन शिक्षामन्त्रीको राजीनामा नै लिन सफल भयो ।
यस आन्दोलनको क्रममा जन्तरमन्तरमा उनको मन्तव्यले धेरैको ध्यान खिचेको थियो । अहिले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको आन्दोलनमा उनी बारम्बार गिरफ्तार भएकी छन् । साथै रिहा पनि भएकी छन् । रिहाइलगत्तै आन्दोलनमा सक्रिय हुनु उनको विशेषता बनेको छ ।
भारतीय राजनीतिमा उनको पहिलो महत्त्वपूर्ण उपस्थिति जुन महिनामा भएको प्रदर्शन नै हो । जुन २८ का दिन वैज्ञानिक सोनाम वाङचुक सीजेपीको समर्थनमा भोक हड्तालमा बसेका थिए । बोरा र अन्य अखिल भारतीय छात्र सङ्घका धेरै अधिकारीले त्यसमा समर्थन जनाएका थिए ।
सुरुमा वाङ चुकमै धेरैको ध्यान थियो । यस क्रममा मन्तव्य दिन थालेपछि धेरै जनाले बोरालाई ध्यान दिन थाले । वाङचुक गिरफ्तार भएपछि उनी आफैं भोक हड्ताल बसिन् । यस क्रममा उनको तौल ८ किलो घटेको थियो ।
वामपन्थी राजनीतिमा सरिक उनले उठाएका हरेक मुद्दा जायज छन् । भारतीय जनता पार्टी र प्रधानमन्त्री मोदीको कटु आलोचक उनीसँग सहकार्य गर्न कांग्रेस पार्टीले पनि इच्छा देखाइसकेकी छन् ।
बारम्बारको धम्कीले पनि डगमगाइनन्

मोदी र गृहमन्त्रीको आलोचना गरेकै कारण उनले बारम्बार धम्की र चेतावनीको सामना गरेकी छन् । गत सेप्टेम्बर महिनामा पनि उनले यसै किसिमको धम्कीको सामना गरेकी हुन् ।
गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको विरुद्धमा अभिव्यक्ति दिएपछि उनलाई ज्यान मार्नेसम्मका धम्की आउन थालेको थियो । एआईएसएले बोराको सुरक्षाका लागि निवेदन दिएको थियो ।
यसपछि उनी भारतको धेरै स्थानमा कार्यक्रमको दौरान पुग्ने गरेकी छन् । उनले अहिले समाज परिवर्तनको मुद्दा उठाइरहेकी छन् । समाज परिवर्तन अहिलेको संसद्ले गर्न नसक्ने भएका कारण अहिले सडकमा भएकाहरू जिम्मेवारीमा पुगेर मात्र यो सम्भव हुने उनले बताउँदै आएकी छन् ।
शुक्रबार पनि उनी गिरफ्तार भएकी छन् । सीजेपीका नेता अभिजित दिप्केसहित उनी गिरफ्तार भएकी हुन् । पाँच घण्टा हिरासतमा राखिएपछि बोरा भने रिहा भएकी छन् ।
वाम राजनीतिः संसदमा ओरालो, विश्वविद्यालयमा प्रभावशाली
अहिले बोराको उपलब्धिका कारण भारतमा वाम राजनीति माथि उठ्ने सम्भावना देखिन थालेको छ । के विगतमा गुमेको आधार फिर्ता हुनसक्छ ? यस प्रश्नसँगै दक्षिण एसियामा नै वामपन्थीमा एउटा नयाँ आशा पलाएको छ ।
मजदुर र काम गर्ने वर्गको पक्षमा उनले अहिले आवाज उठाएकी छन् । कांग्रेस नेता राहुल गान्धीले त उनको मुद्दाले आफूलाई प्रभावित तुल्याएको बताउँदै सरकारविरोधी गतिविधिको केन्द्र उनी हुनसक्ने बताइसकेका छन् ।
बोराले नेतृत्व गरेको विद्यार्थी सङ्गठन आइसा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी लेनिनवादी) को भ्रातृ सङ्गठन हो । यसअघि नोभेम्बरमा भएको विद्यार्थी निर्वाचनमा उनको नेतृत्वमा आइसाले महत्त्वपूर्ण विश्वविद्यालयमा सफलता पाएको थियो । यसपछि युवा र विश्वविद्यालयका विद्यार्थीको माझमा वाम राजनीतिप्रतिको झुकाव बढेको देखिएको थियो ।
उनको दल सीपीआई (माले)का महासचिव दीपाङ्कर भट्टाचार्य बोराले पाएको उचाइसँगै संसदीय निर्वाचनमा समेत आशावादी हुनसक्ने आधार देखापरेको बताउँछन् ।
नेहा प्रस्ट छिन् । उनको विचार जनमतबाटै अनुमोदन हुनसक्छ । तर यसका लागि पहिला निर्वाचन प्रणालीमा सुधार हुन आवश्यक छ । केही राजनीतिक विश्लेषकहरू भने कम्युनिस्टहरू आन्दोलनात्मक गतिविधिमा सफल भए पनि चुनावी राजनीतिमा असफल हुने बताउँछन् ।
गुमेको साख फर्काउने अवसर

सन् २००४ मा भारतीय कम्युनिस्टहरूले लोकसभामा ५९ स्थानमा सफलता हात पारेका थिए । टुक्रा–टुक्रामा विभावित कम्युनिस्टहरूको कुल सफलता नै त्यही थियो । यो क्रम घट्दै गएर सन् २०१९ मा ६ सीटमा पुगेको थियो । सन् २०२४ मा बढेर ९ भयो ।
सन् २०२४ मा बिहारमा सीपीआई (माले) ले दुई स्थानमा सफलता पाएको थियो । यो नै सो दलको सबैभन्दा बढी प्रभाव रहेको प्रान्त हो । सन् २०२५ मा बिहारमा भएको निर्वाचनमा २० स्थानमा उम्मेदवारी दिएको सो दलले २ सीटमा मात्र जित हात पारेको थियो ।
३४ वर्ष शासन गरेको पश्चिम बङ्गालमा वामपन्थी शक्तिले फेरि आफ्नो साख फिर्ता गर्न सकेको छैन । केरलामा पनि ओरालो यात्रा रोकिन सकेको छैन ।
दक्षिण एसियामा वामपन्थी प्रभाव घट्दो छ । सँगै विभाजित पनि । भारतमा वामपन्थी राजनीतिज्ञका लागि एउटा नयाँ आशा र सम्भावना पलाएको छ नेहा बोराको रूपमा । सायद उनकै नेतृत्वमा सङ्गठित भएर वाम राजनीति फेरि उदाउन सक्छ ।
– रोयटर्स, बीबीसी, द प्रिन्टलगायतको सहयोगमा


मनोज घिमिरे 



















