images
images
  • गाजामा पहुँच पूर्ण खुला गर्न इजरायलसँग चीनको आग्रह

    काठमाडौं– चीनले इजरायललाई गाजापट्टीमा मानवीय सहायता तथा अन्य सामग्रीको पहुँच पूर्ण रूपमा खुला गर्न र वेस्ट ब्याङ्कमा बस्ती विस्तार रोक्न आग्रह गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले प्यालेस्टिनी समस्याको समाधानका लागि दुई–राज्य समाधान नै उपयुक्त मार्ग भएको बताएका छन् ।

    अजरबैजानको बाकुमा एसियामा अन्तरक्रिया तथा विश्वास निर्माणका उपायसम्बन्धी सातौं सम्मेलनका अवसरमा बिहीबार इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँगको भेटमा वाङले गाजाका करिब २० लाख सर्वसाधारणलाई मानवीय सङ्कटबाट जोगाउन तत्काल कदम चाल्नुपर्नेमा जोड दिएको चिनियाँ पक्षले जनाएको छ ।

    वाङले वेस्ट ब्याङ्कमा बस्ती स्थापना तथा विस्तार रोक्न र त्यस्ता कदम फिर्ता लिन आग्रह गर्दै इजरायली र प्यालेस्टिनी दुवै जनतालाई शान्तिपूर्वक बाँच्ने र स्वतन्त्र राज्य स्थापना गर्ने अधिकार रहेको बताए ।

    उनले मध्यपूर्वमा स्थायी शान्तिका लागि वार्ता र राजनीतिक समाधान आवश्यक रहेको उल्लेख गरे ।

    चीनले क्षेत्रीय शान्ति तथा सुरक्षा प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

    भेटमा राष्ट्रपति हर्जोगले विज्ञान तथा प्रविधि, लगानी र जनस्तरको आदानप्रदानमा चीनसँग सहकार्य विस्तार गर्ने इजरायलको इच्छा व्यक्त गरे ।

    उनले एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहो¥याउँदै क्षेत्रीय शान्ति र स्थिरताका लागि बेइजिङसँग संवाद कायम राख्न आफ्नो देश इच्छुक रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images