images
images
  • धान काट्ने मेसिनले घटाउँदै उत्पादन लागत, १५ मिनेटमा तीन रोपनी कटानी

    काठमाडौं – कृषि क्षेत्रमा बढ्दो उत्पादन लागत र श्रमिक अभावको समस्या समाधान गर्न स्याङ्जाको वालिङस्थित कृषि विकास स्रोत केन्द्रले आधुनिक कृषि यन्त्रको प्रयोगमा जोड दिएको छ । केन्द्रले पहिलो पटक धान काट्ने रीपर मेसिन प्रयोगमा ल्याएसँगै धान कटानीमा लाग्ने समय र खर्च घट्ने अपेक्षा गरेको छ ।

    गण्डकी प्रदेशका ११ जिल्लालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको केन्द्रले कृषि उपजको उत्पादन लागत कम गर्ने उद्देश्यले आधुनिक प्रविधि अपनाउन थालेको हो। पछिल्लो समय कृषि मजदुर पाउन कठिन हुनुका साथै ज्याला बढ्दै जाँदा बीउ उत्पादनको लागतसमेत बढेकाले यान्त्रिकीकरणमा जोड दिनुपरेको केन्द्रका प्रमुख सुदीप रेग्मीले बताउ ।

    “हामीले उत्पादन गर्ने कृषि उपजको लागत मूल्य ह्वात्तै बढेर गएको छ,” उनले भने, “लागत मूल्य कम गराउन सकेको खण्डमा कृषक तथा उपभोक्तालाई प्रत्यक्ष रूपमा लाभ पुग्छ ।”

    केन्द्रले धान, गहुँ, कोदो तथा तरकारीजन्य बालीका उन्नत जातका बीउ उत्पादन गर्दै आएको छ। बीउ उत्पादनका लागि खेतबारीमा काम गर्ने श्रमिक पाउन कठिन हुँदै गएपछि आधुनिक यन्त्र उपकरणको प्रयोगलाई प्राथमिकता दिइएको रेग्मीले बताए ।

    ५० प्रतिशतसम्म लागत घट्ने अपेक्षा

    केन्द्रले प्रयोगमा ल्याएको रीपर मेसिनले छोटो समयमै धेरै क्षेत्रफलको धान काट्न सक्ने भएकाले कटानी खर्च घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। केन्द्रका प्रमुख रेग्मीका अनुसार मेसिनले करिब १० देखि १५ मिनेटमा तीन रोपनी क्षेत्रफलको धान काट्न सक्छ ।

    परम्परागत रूपमा श्रमिक लगाएर दिनभरि गर्नुपर्ने कटानीको काम मेसिनबाट केही घण्टामै सम्पन्न गर्न सकिने उहाँको भनाइ छ । यसले समय बचत गर्नुका साथै श्रमिक अभावको समस्या समाधान गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    रीपर मेसिनको प्रयोगबाट धान काट्ने खर्च झन्डै ५० प्रतिशतसम्म घट्न सक्ने रेग्मीले बताए । यद्यपि, वास्तविक बचत मेसिन सञ्चालन खर्च, खेतको अवस्था र कटानी गर्नुपर्ने क्षेत्रफलअनुसार फरक पर्न सक्छ ।

    पराल व्यवस्थापनमा पनि सहज

    रीपर मेसिनबाट धान काट्दा बालीलाई एकनासले काट्न र व्यवस्थित रूपमा राख्न सकिने भएकाले पराल उठाउन तथा बाँध्न पनि सहज हुने केन्द्रले जनाएको छ। जमिनको सतहअनुसार धान काटिने भएकाले कटानीको काम व्यवस्थित बनाउन सहयोग पुग्ने बताइएको छ ।

    व्यावसायिक रूपमा कृषि पेसा अपनाएका किसान समूह, सहकारी तथा कृषि फार्मका लागि यस्तो प्रविधि उपयोगी हुन सक्ने केन्द्रको भनाइ छ। ठूलो क्षेत्रफलमा खेती गर्ने किसानले मेसिनको प्रयोगबाट समय र श्रम दुवै बचत गर्न सक्ने अपेक्षा गरिएको छ ।

    १०५ रोपनीमा धानको बीउ उत्पादन

    कृषि विकास स्रोत केन्द्रले वालिङस्थित कार्यालय परिसरको २२ रोपनी र वालिङ–१ बगुवाको ८३ रोपनी गरी कुल १०५ रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा धानको बीउ उत्पादन गर्दै आएको छ ।

    केन्द्रले रामधान, हर्दिनाथलगायत उन्नत जातका धानको बीउ उत्पादन गर्दै आएको छ । उत्पादित बीउ आवश्यक प्रक्रिया पूरा गरेपछि बिक्री वितरण गरिँदै आएको केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images