काठमाडौं– साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। लगातार चौथो दिन नेप्से सकारात्मक भई बन्द भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.१२ अंक बढेर २५९९.९३ विन्दुमा पुगेको छ। सोमबार पनि ४ अंकले नेप्से बढेको थियो । सेन्सेटिभ इन्डेक्स २.३५ अंक, फ्लोट इन्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८४ अंक बढेको छ।
१३ मध्ये आज पाँच उपसमूहको परिसूचक बढेको छ। जीवन बीमा उपसमूहको परिसूचक १।७७ प्रतिशत बढेको छ। बैंकिङ विकास बैंक, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। सोमबार चार अर्ब ४६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३५१ स्टकको चार अर्ब ७३ करोड ६९ लाख २६ हजार रुपैयाँबराबरको एक करोड ३५ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
घलेम्दी हाइड्रो कम्पनीको ३६ करोड ४७ लाख रुपैयाँबराबरको कारोबार भएको छ। माउन्टेन इनर्जीको करिब २६ करोड, कुमारी बैंकको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ ।
सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य १२।४४ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन स्नो रिभर्सको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।






















