काठमाडौं- साउदी अरेबियाको रियाद विमानस्थलमा शनिबार भएको आक्रमणमा एक भारतीयको मृत्यु भएको छ ।
साउदी अरेबियास्थित भारतीय दूतावासले अक्टोबर १० मा रियाद विमानस्थलमा आक्रमणमा घाइते भएका एक भारतीय नागरिकको मृत्यु भएको जानकारी गराएको हो ।
‘हामी मृतकको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। हामी परिवारसँग सम्पर्कमा छौं र शवलाई सकेसम्म चाँडो भारत ल्याउन सबै सम्भव सहयोग प्रदान गर्नेछौं,’ सामाजिक सञ्जाल एक्समा दूतावासले लेखेको छ ।
साउदी अरेबियाको राजधानी रियादमा रहेको विमानस्थलमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ र ३०९ जना घाइते भएका छन् ।
भारतले किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र अन्य नागरिक निशानाहरूमा भएका आक्रमणहरूको कडा निन्दा गरेको छ ।
‘हामी अक्टोबर १० मा भएको कायरतापूर्ण आक्रमणसहित विगत केही दिनमा रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा बारम्बार भएका आक्रमणहरूको कडा निन्दा गर्छौं,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।
रियादस्थित विमानस्थलमा इरान समर्थित हुथी विद्रोहीले आक्रमण गरेको हो ।























