काठमाडौं – बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्ये दोस्रो स्वरूप माता ब्रह्मचारिणीको पूजा–आराधना गरिँदैछ । तपस्या, त्याग, संयम र साधनाको प्रतीक मानिने माता ब्रह्मचारिणीको विधिपूर्वक पूजा गर्नाले भक्तजनमा धैर्य, आत्मबल र सदाचारको विकास हुने धार्मिक विश्वास छ ।
धार्मिक मान्यताअनुसार, ‘ब्रह्म’ शब्दले तपस्या वा ज्ञान र ‘चारिणी’ शब्दले आचरण गर्ने भन्ने अर्थ दिन्छ । त्यसैले तपस्याको मार्गमा हिँड्ने देवीलाई ब्रह्मचारिणी भनिएको हो। माता ब्रह्मचारिणीलाई शान्त, तेजोमय र पवित्र स्वरूपकी देवीका रूपमा वर्णन गरिएको छ। उनको दाहिने हातमा जपमाला र देब्रे हातमा कमण्डलु रहेको हुन्छ। सेतो वस्त्र धारण गर्ने देवीको स्वरूपलाई पवित्रता, शान्ति र सात्त्विकताको प्रतीक मानिन्छ ।
पौराणिक कथाअनुसार, हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन् । देवर्षि नारदको सल्लाहमा उनले हजारौँ वर्षसम्म तपस्या गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। सुरुमा फलफूल र कन्दमूल खाएर, पछि सुकेका पातमा निर्भर रहेर र अन्ततः आहार त्यागेर तपस्या गरेकाले उनको नाम ब्रह्मचारिणी रहन गएको धार्मिक विश्वास छ। उनको तपस्यालाई दृढ सङ्कल्प, आत्मसंयम र लक्ष्यप्रतिको समर्पणको उदाहरणका रूपमा लिइन्छ ।
नवरात्रको दोस्रो दिन बिहान स्नान गरी शुद्ध भएर पूजा–आराधना गर्ने परम्परा छ। यस दिन माता ब्रह्मचारिणीलाई सेतो फूल, अक्षता, चन्दन, पञ्चामृत र फलफूल अर्पण गरिन्छ । चिनी वा मिठाईको भोग लगाउने तथा उखु वा चिनी दान गर्ने चलन पनि छ। भक्तजनले व्रत बसी देवीको ध्यान र मन्त्रजप गर्ने गर्छन् ।
माता ब्रह्मचारिणीको पूजा गर्दा ‘ॐ देवी ब्रह्मचारिण्यै नमः’ मन्त्र जप गर्ने धार्मिक विधि छ। त्यस्तै, ‘दधाना करपद्माभ्यामक्षमालाकमण्डलू। देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तरा’ मन्त्रबाट देवीको ध्यान गरिन्छ ।
धार्मिक विश्वासअनुसार, माता ब्रह्मचारिणीको आराधनाले कठिन परिस्थितिमा धैर्य धारण गर्ने, मनलाई एकाग्र बनाउने र आत्मअनुशासन कायम राख्ने शक्ति प्राप्त हुन्छ । नवरात्रका नौ दिन नवदुर्गाका विभिन्न स्वरूपको पूजा गर्ने परम्परामा दोस्रो दिनको आराधनाले साधना, त्याग र संयमको महत्त्व स्मरण गराउँछ ।























